मनोचिकित्सकको रूपमा काम गर्न थालेको विगत १४ वर्षमा सन् २०२४ मा लागूपदार्थ दुर्व्यसनका घटनाले मेरो व्यक्तिगत जीवनमै निकै ठूलो असर पारे। त्यसैले यो जानकारीमूलक लेख मार्फत आम पाठक वर्गलाई लागूपदार्थ दुर्व्यसनको यस भयावह समस्याका बारे केही जानकारी दिने प्रयास गर्दैछु ।
व्यक्तिगत घटनाहरू सामाजिक रूपमा सम्प्रेषण गर्नु चुनौतीपूर्ण कार्य हो, अझ विशेषगरी लागूपदार्थ जस्तो सामाजिक लाञ्छना लाग्ने समस्याका बारे शेयर गर्नु झनै गाह्रो कुरा हो। तर यो समस्याका बारे हामी सबैले खुलेर कुरा गर्नु निकै ढिलो भइसकेको छ र तल उल्लिखित घटनाका सन्दर्भमा यही समाजमा व्याप्त लाञ्छना र कलंक पनि धेरै हदसम्म जिम्मेवार छन् भन्ने निष्कर्ष र बोधका साथ व्यक्तिगत विवरण नराखी यी घटनाहरू शेयर गरेको छु।
दु:खद् घटना १: लागूपदार्थ दुर्व्यसनका कारण गत वर्ष मैले आफ्नो एकदमै नजिकको आफन्तलाई युवावयमै गुमाउनुपर्यो र त्यो वियोगको शोकबाट हाम्रो परिवार अझै निस्कन सकेको छैन। अझ दु:खद् त उनको लागूपदार्थ दुर्व्यसनबारे परिवारका कसैलाई पनि जानकारी समेत भएन र दुर्व्यसनको उपचार पाउनुअघि नै हामीले उनलाई गुमाउनुपर्यो। यो लेख मूल रूपमा उनैप्रति समर्पित छ।
दु:खद् घटना २: मैले नजिकबाट चिनेको चिकित्सककै परिवारका एक युवा चिकित्सक लागूपदार्थ दुर्व्यसनकै दुर्घटनाबाट अकालमा ज्यान गुमाउन पुगे। उनको दुर्व्यसनका बारे थाहा हुँदाहुँदै र उचित उपचारको पहुँच हुँदाहुँदै पनि विविध कारणवश उनले अकालमा ज्यान गुमाउन पुगे।
सुखद घटना १: मैले अत्यन्तै आदर गर्ने चिकित्सा विज्ञानकै एक जना प्राध्यापकले नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा अकस्मात् फोन गरेर धन्यवाद दिनुभयो। सुर्तीजन्य पदार्थको दुर्व्यसन भएको उहाँलाई म हरेक पटक भेट्दा आदरपूर्वक सम्झाउने गर्थें (उपचारको बारे यहाँ विस्तृतमा उल्लेख गरिएको छैन) र उहाँले पटक–पटक उक्त दुर्व्यसन त्याग्ने प्रयास पनि गर्नुभएको थियो। पटक–पटकको असफलता पश्चात् यस पटक चाहिं सफल भएकाले त्यसको श्रेय दिन फोन गर्नुभएको रहेछ।
माथिका घटनाबाट हामीले केही महत्वपूर्ण पाठहरू सिक्न सक्छौं। घटना १ मा सहज उपचारको पहुँच हुँदाहुँदै पनि उनले खुलेर आफ्नो दुर्व्यसनका बारे परिवारलाई बताउन नसक्दा हामी परिवारले उनको दुर्व्यसनका बारे थाहा समेत नपाई दुर्घटनावश उनको ज्यान गुम्यो।
उनले आफ्नो दुर्व्यसनका बारे यसरी परिवारलाई बताउन नसक्नुमा हाम्रो समाजमा दुर्व्यसनका बारे व्याप्त भ्रम र त्यसबाट सिर्जित दुर्व्यसन पीडित व्यक्तिहरूप्रति समाजमा व्याप्त लाञ्छना र भेदभाव एक प्रमुख कारण हो। घटना २ मा दुर्व्यसनको बारे जानकारी र उपचारको पहुँच हुँदाहुँदै पनि एक युवा चिकित्सक आफैंले दुर्व्यसनका कारण ज्यान गुमाउन पुगे।
सतही रूपमा हेर्दा यो घटनाले ‘भनेपछि दुर्व्यसन भए पछि डाक्टर आफैंले त ज्यान गुमाउने रहेछ, यसको प्रभावकारी उपचार नहुने रहेछ’ भन्ने जस्तो लाग्न सक्छ तर यो घटनामा पनि मूल रूपमा दुर्व्यसनका बारे समाजमा व्याप्त भ्रम, लाञ्छना र कलङ्क प्रमुख रूपमा जिम्मेवार छ।
अक्सर समाजमा व्याप्त यो गलत धारणाको प्रथम शिकार दुर्व्यसन भएका व्यक्ति आफैं हुन्छन्, अक्सर उनीहरू आफैंलाई दुर्व्यसन एक जटिल मनोरोग हो र यसको उपचार गर्नुपर्छ/उपचार सम्भव छ भन्ने विश्वास हुँदैन। विश्वास भए पनि सामाजिक लाञ्छना र कलङ्कका कारण उनीहरू आफैंलाई समस्या छ भनेर स्वीकार्न कठिन हुन्छ र खुलेर उपचारमा जान सक्दैनन्। उपचारमा गए पनि फेरि त्यही लाञ्छना र कलंकका कारण उपचारमा निरन्तरता दिन सक्दैनन्। उनको हकमा पनि धेरै हदसम्म यिनै कारणहरू लागू हुन्छन्।
यसरी दुर्व्यसन एक जटिल मनोरोग भए पनि हाम्रो समाजमा अझै पनि यसलाई व्यक्तिको व्यक्तिगत/चारित्रिक कमजोरीको रूपमा हेरिन्छ र फलस्वरूप उनीहरू लाञ्छना र भेदभावको शिकार बन्न पुग्छन्। समाजले उनीहरूलाई कलंकित गराउँछ।
विडम्बना दुर्व्यसन र दुर्व्यसनको मनोरोगबाट प्रभावित व्यक्तिहरूप्रतिको यो भ्रम र सामाजिक लाञ्छना/कलङ्क शिक्षित समाजमै पनि यति व्याप्त छ कि विविध प्रभावकारी उपचार विधिहरू उपलब्ध हुँदाहुँदै पनि लागूपदार्थ दुर्व्यसनको उचित रोकथाम र उपचारका निम्ति यो सबैभन्दा प्रमुख चुनौती बन्न पुगेको छ।
तेस्रो सुखद् घटनाले के जनाउँछ भने दुर्व्यसन जटिल मनोरोग भएकाले यसको उपचार प्रक्रिया केही लामो हुनसक्छ, यो दीर्घरोग भएकाले दुर्व्यसन बार–बार दोहोरिन सक्छ तर निरन्तरको उपचारबाट यसबाट मुक्ति मिल्न सक्छ। त्यसैले यो लेख मुख्य रूपमा दुर्व्यसनको कारणका बारेमा रहेको भ्रम चिर्न लक्षित छ ।
पहिले त लागूपदार्थ दुर्व्यसनको यो तथ्यांक हेरौं –
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वभर ४० करोडभन्दा बढी व्यक्तिहरू रक्सीजन्य पदार्थको दुरुपयोगको समस्याबाट प्रभावित छन् भने २० करोड भन्दा बढीमा दुर्व्यसन छ अनि रक्सीजन्य पदार्थको प्रयोगका कारण वर्षेनि २६ लाख व्यक्तिहरूको मृत्यु हुने गरेको छ जुन वार्षिक कुल मृत्युको ४.७ प्रतिशत हुन आउँछ भने अफिम लगायत अन्य मनोद्वीपक पदार्थको दुरुपयोगका कारण झन्डै ६ लाख व्यक्तिहरूको मृत्यु हुने गरेको छ।
(रक्सीजन्य पदार्थ तथा लागूपदार्थको दुर्व्यसन सम्बन्धी विश्व स्वास्थ्य संगठनको रिपोर्ट २०२४) त्यस्तै सन् २०२१ को तथ्यांक अनुसार विश्वभर ६ करोड भन्दा बढीले अफिमजन्य पदार्थ प्रयोग गर्छन् भने झन्डै ४ करोड व्यक्तिहरू अफिम लगायतका अन्य प्रतिबन्धित लागूऔषधको दुर्व्यसनबाट प्रभावित छन्। (अफिमजन्य पदार्थ दुरुपयोग सम्बन्धित विश्व स्वास्थ्य संगठनको समाचार २०२३)।
– हाम्रो समाजमा अक्सर सुर्ती, खैनी, सुर्तीजन्य पदार्थ भएका गुट्खा, भोला, पान आदि पदार्थ, चुरोटको प्रयोगलाई दुर्व्यसन मानिंदैन तर विश्वभर रोकथामजन्य मृत्युको प्रमुख कारणमध्ये सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारण हो र यी सुर्तीजन्य पदार्थको दुर्व्यसन पनि अन्य दुर्व्यसन जस्तै एक मनोरोग हो जसको उपचार अत्यन्त जरूरी र सम्भव छ।
– विश्वभर १.३ अर्ब जनसंख्याले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन् भने वर्षेनि ८० लाखभन्दा बढी व्यक्तिहरूको मृत्यु हुने गरेको छ। अझ रोचक तथ्य त सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने त्यो ८० लाख मृत्युमध्ये झन्डै १२ लाख मृत्यु चाहिं आफूले सिधै सुर्तीजन्य पदार्थ प्रयोग नगरे पनि अरूले प्रयोग गरेको सुर्तीजन्य पदार्थको धुवाँको कारण हुन्छ। (सुर्तीजन्य पदार्थको प्रयोग सम्बन्धी विश्व स्वास्थ्य संगठनको तथ्यपत्र)
अब यो भयावह तथ्यांकको जानकारी पछि (अक्सर तथ्यांक हेर्ने बानीका कारण हामी यसलाई केवल एउटा संख्याको रूपमा हेर्ने गर्छौं, तर जब त्यसले आफू वा आफन्तजनलाई गाँज्छ तब त्यो पीडा कति हुन्छ भन्ने हामी महसुस गर्छौं। त्यसैले हामी सबैले बेलैमा यसको बारे सचेत हुनु जरूरी छ) लागौं लागूपदार्थ दुर्व्यसनको कारणहरू तर्फ।
वास्तवमा लागूपदार्थ दुर्व्यसन व्यक्तिको व्यक्तिगत वा चारित्रिक कमजोरी नभई एक जटिल मनोरोग हो जसका पछाडि एउटा मात्र नभई विविध कारण हुन सक्छन्।
आधुनिक चिकित्सा विज्ञानले विविध जैविक, मनोवैज्ञानिक तथा सामाजिक/वातावरणीय कारणहरूको अन्तरक्रियाको कारण दुर्व्यसनको मनोरोग हुन्छ भन्ने प्रमाणित गरेको छ। ती कारणहरूलाई सामान्य रूपमा निम्न बमोजिम सूचीकृत गर्न सकिन्छ : जैविक, मनोवैज्ञानिक र मनोसामाजिक।
१. जैविक कारण:
अ. जेनेटिक/ वंशानुगत: हाम्रा धेरै गुण/बानी/व्यवहार हामीमा भएको जीनले निर्धारण गर्छन् र अक्सर ती जैविक गुण वंशानुगत रूपमा आमाबुबाबाट बच्चाबच्चीमा जान्छन्। त्यसैले परिवारमा कसैलाई कुनै पनि लागूपदार्थको दुर्व्यसन छ भने अन्यलाई हुनसक्ने जोखिम उल्लेख्य मात्रामा बढ्न जान्छ र हामीले यो कुरामा धेरै हेक्का राख्नुपर्छ।
आ. दिमागमा हुने स्नायुसंचार गराउने रासायनिक पदार्थहरूको गडबडी- हाम्रो बानी/व्यवहार, सोचाइ र मनोभाव सन्तुलनमा राख्न दिमागको विभिन्न भागहरूका बीचमा हुने संचारको महत्वपूर्ण भूमिका हुन्छ र त्यो संचारप्रणाली त्यहाँ हुने विभिन्न स्नायुसंचार रसायनहरूमा निर्भर रहन्छ। जब हामीले कुनै पनि आनन्ददायक काम गर्छौं (जस्तै- खेलकुद, मनपरेको खानेकुरा खानु) त्यसले हाम्रो दिमागको आनन्द महसुस गर्ने केन्द्रमा विशेष स्नायु रसायनहरू उत्सर्जन गर्छ र हामी आनन्द महसुस गर्छौं। त्यसैगरी हाम्रो दिमागको सम्झने केन्द्रमा त्यसले अन्य स्नायु रसायनहरू उत्सर्जन गर्छ र त्यो हाम्रो सम्झनामा बस्छ।
त्यसैगरी त्यो आनन्दको महसुस गर्ने केन्द्रबाट उत्सर्जित केही स्नायु रसायनले हाम्रो दिमागमा भएको उत्प्रेरणा केन्द्र (हामीले गर्ने कुनै पनि योजनाबद्ध क्रियाकलाप यही केन्द्रद्वारा निर्देशित हुन्छन्) मा असर गर्छन् र हामी त्यो आनन्ददायक क्रियाकलाप दोहोर्याउन उत्साहित हुन्छौं। तर हामीलाई सधैं आनन्द आउने काम/कुरा मात्र गर्न छुट हुँदैन, हाम्रा अन्य धेरै जिम्मेवारी हुन्छन्। त्यसैले हाम्रो दिमागमा भएको अर्को केन्द्र (आत्मनियन्त्रण केन्द्र)ले देश, काल, परिस्थिति, सामाजिक, व्यक्तिगत मूल्य/मान्यता आदिका आधारमा कुन बेला के काम गर्ने भन्ने विचार गरेर त्यो उत्प्रेरणा केन्द्रलाई निर्देशित गर्ने कार्य गर्छ।
प्राकृतिक रूपमा आनन्द प्रदान गर्ने क्रियाकलापहरूले उत्सर्जन गर्ने स्नायु रसायनहरूको उत्सर्जन प्राकृतिक हुने हुनाले ती सन्तुलित रूपमा उत्सर्जन हुन्छन् र त्यसमाथि हाम्रो निर्णय केन्द्रको उचित नियन्त्रण हुन्छ। तर जब हामी कुनै दुर्व्यसनजन्य लागूपदार्थ प्रयोग गर्छौं त्यसले अक्सर हाम्रो दिमागमा भएको आनन्ददायक केन्द्र लगायत अन्य भागहरूमा अप्राकृतिक रूपमा स्नायु रसायनहरूको उत्सर्जन गर्छ र अस्वाभाविक आनन्द महसुस गराउँछ। त्यसले गर्दा जसले हाम्रो दिमागका विभिन्न भागहरूका बीचको सन्तुलन असन्तुलित हुन्छ, हाम्रो आत्मनियन्त्रण केन्द्रले सही निर्णय गर्ने क्षमता गुमाउँछ। दुर्व्यसनजन्य पदार्थले हाम्रो स्मृति/सम्झना केन्द्रमा पनि अस्वाभाविक गतिविधि उत्पन्न गराउँछ जसले गर्दा पटक पटक त्यही लागूपदार्थको सम्झना गराइराख्छ।
त्यो सम्झना केन्द्रको अस्वाभाविक गतिविधिले हाम्रो दिमागको आत्मनियन्त्रण केन्द्रलाई शिथिल बनाउन भूमिका खेल्छ त्यसैगरी आनन्ददायक केन्द्रबाट अस्वाभाविक रूपमा उत्सर्जित रसायनले हाम्रो उत्प्रेरणा केन्द्रलाई अस्वाभाविक रूपमा उत्प्रेरित गराई उक्त पदार्थ पटक–पटक प्रयोग गर्न उत्साहित गराउँछ। दुर्व्यसन नहुँदाको अवस्थामा लागूपदार्थ प्रयोग गरे पनि अक्सर हाम्रो आत्मनियन्त्रण केन्द्रले यो प्रक्रियालाई नियन्त्रणमा राख्ने हुनाले हामी लागूपदार्थ प्रयोग गरे पनि आफ्नो नियन्त्रणमा राख्न सक्छौं (जुन क्षमता व्यक्ति अनि पदार्थ पिच्छे फरक हुन सक्छ, जस्तै- कसै–कसैमा धेरै पटक लागूपदार्थ प्रयोग गरेपछि दुर्व्यसन विकसित हुन्छ भने कसै–कसैलाई एकदमै थोरै पटक प्रयोग गर्दा पनि दुर्व्यसन हुन सक्छ)।
तर जब लागूपदार्थ पटक–पटक प्रयोग गरिन्छ क्रमिक रूपमा त्यो सन्तुलन बिग्रँदै जान्छ र फलस्वरूप दुर्व्यसन हुन जान्छ। अन्य जे–जे कारण भए पनि लागूपदार्थले अन्ततोगत्वा हाम्रो दिमागमा ल्याउने परिवर्तन र त्यसबाट उत्पन्न हुने दुर्व्यसनको मनोरोगको मुख्य कारण यही नै हो।
इ. अन्य पदार्थको दुर्व्यसन: यदि कुनै व्यक्तिमा एउटा लागूपदार्थको दुर्व्यसन छ भने अन्य पदार्थको दुर्व्यसनमा पर्ने जोखिम बढी हुन्छ। अक्सर के देखिएको छ भने विविध कारणवश किशोरावस्थामा खैनी, सुर्ती, चुरोट, रक्सी, बियर जस्ता कानूनी रूपमा वर्जित नभएका र सामाजिक रूपमा स्वीकार्य लागूपदार्थ (कानूनी मान्यता र सामाजिक स्वीकार्यताका कारण धेरैलाई यी पदार्थहरू लागूपदार्थ हुन् भन्ने नै थाहा हुन्न वा विश्वास हुन्न) प्रयोगबाट दुर्व्यसन शुरू हुन्छ र त्यो क्रमश: अन्य गाँजा, अफिम जस्ता अन्य गैरकानूनी लागूपदार्थको दुर्व्यसनमा पर्न जान्छन्।
त्यसैले लागूपदार्थको दुर्व्यसनको उपचार गर्दा व्यक्तिलाई सबै प्रकारका दुर्व्यसनबाट मुक्त राख्ने कोशिश गर्नु जरूरी हुन्छ। अक्सर रक्सीको दुर्व्यसन भएका व्यक्तिहरूमा सुर्तीजन्य पदार्थको पनि दुर्व्यसन हुन्छ तर उनीहरूले ‘रक्सी छोडे पनि एउटा सुर्तीको अम्मल त चाहिहाल्छ नि’ भन्ने सोच्छन् तर त्यो गलत धारणा हो किनकि सुर्ती/चुरोटको दुर्व्यसनले समयक्रममा फेरि रक्सीको दुर्व्यसन पनि दोहोरिन पुग्ने जोखिम बढ्छ।
ई. अन्य मनोरोग: डिप्रेसन, एन्जाईटी, साइकोसिस जस्ता विभिन्न मनोरोगमा दिमागमा हुने स्नायु रसायनको परिवर्तन/असन्तुलनका कारण पनि दुर्व्यसनको जोखिम बढ्न जान्छ। अध्ययनहरूले दुर्व्यसन भएका व्यक्तिहरूमा अन्य मनोरोगको प्रबलता धेरै नै देखाएका छन्। जस्तै- रक्सीजन्य पदार्थको दुर्व्यसन भएका आधाभन्दा धेरै व्यक्तिमा डिप्रेसन र/वा एन्जाईटीको मनोरोग भएको पाइएको छ।
यो किन पनि महत्वपूर्ण छ भने कतिपय अवस्थामा यदि अन्य मनोरोग छ भने केही समयको लागि दुर्व्यसनबाट टाढै रहे पनि त्यही मनोरोगकै कारण व्यक्ति फेरि फेरि दुर्व्यसनमा फस्न पुग्छ। त्यसैले दुर्व्यसनको उपचार गर्दा अनिवार्य रूपमा अन्य मनोरोगको बारेमा पनि परीक्षण र उपचार गर्नु त्यत्तिकै जरूरी छ।
उ. दिमागको चोट पटक: विभिन्न कारणले दिमागमा चोट लागेका व्यक्तिहरूमा पनि माथि उल्लिखित स्नायु रसायनहरूको असन्तुलन हुन गई दुर्व्यसनको जोखिम बढ्न सक्छ।
२. मनोवैज्ञानिक तथा मनोसामाजिक कारण
अ. सांस्कृतिक/सामाजिक मान्यता र लागूपदार्थको सहज उपलब्धता: रक्सीजन्य तथा सुर्तीजन्य पदार्थहरूको कानूनी मान्यता र सहज उपलब्धता एवं हाम्रो कतिपय समाजमा रक्सीजन्य पदार्थहरूको सांस्कृतिक तथा सामाजिक स्वीकार्यताका कारण ती लागूपदार्थको दुर्व्यसनको जोखिम बढी हुन्छ र त्यस मार्फत अन्य लागूपदार्थको दुर्व्यसनको जोखिम बढ्न जान्छ। हाम्रो कतिपय समुदायमा सांस्कृतिक रूपमा रक्सीजन्य पदार्थहरू आफ्ना रीतिरिवाजमा अनिवार्य खाने प्रचलन रहेको छ जसले गर्दा रक्सीको दुर्व्यसन भएका कतिपय व्यक्तिहरू त्यस्तै रीतिरिवाजका बेला फेरि रक्सीजन्य पदार्थ सेवन गरेर फेरि दुर्व्यसनमा फस्न पुगेका हामीले प्रशस्तै पाउँछौं। अनि सांस्कृतिक मान्यताका कारण साना बच्चाबच्चीको अघि यस्ता पदार्थ प्रयोग गर्दा उनीहरूको बालमनोविज्ञानमा त्यसले गहिरो छाप छाड्न सक्छ र यसले दुर्व्यसनको जोखिम बढाउँछ।
आ. परिवारमा भएको दुर्व्यसन: यदि परिवारमा कुनै व्यक्तिमा दुर्व्यसन छ भने त्यसले जेनेटिक मात्र हैन सामाजिक/मनोवैज्ञानिक रूपमा अन्य सदस्य माथि पार्ने प्रभावले पनि दुर्व्यसनको जोखिम बढी हुन्छ।
इ. पारिवारिक बेमेल, हिंसा, तनावग्रस्त बाल्यकाल: बाल्यावस्थामा परिवारमा धेरै बेमेल, झै–झगडा भएको छ वा विविध कारण व्यक्तिको बाल्यावस्था तनावग्रस्त अवस्थाबाट गुज्रेको छ भने पनि त्यस्ता व्यक्तिहरू दुर्व्यसन र मनोरोगको बढी जोखिममा हुन्छन्। नेपाली समाजमा पछिल्लो समय परिवारको मुख्य सदस्य (बाबु, आमा वा दुवै) वैदेशिक रोजगारीमा विदेश जाने र बाल्यकालमा भरपर्दो/विश्वासिलो रेखदेखको अभावका कारण बच्चाबच्चीहरू दुर्व्यसनमा फस्ने क्रम ह्वात्तै बढेको देखिन्छ। त्यसैले यसतर्फ पनि बेलैमा ध्यान पुर्याउनुपर्ने देखिन्छ।
ई. साथीभाइको गलत संगत: दुर्व्यसनमा परेका साथीभाइको संगतमा पर्दा उनीहरूले लागूपदार्थ प्रयोग गर्न दिने नाजायज दबाबका वा देखासिकीका कारण पनि धेरै व्यक्तिहरू दुर्व्यसनमा परेको पाइएको छ। यो जोखिम विशेषगरी किशोरावस्थामा एकदमै धेरै हुन्छ। यो अवस्थामा उनीहरूले विशेषगरी सुर्ती/चुरोट जस्ता पदार्थ लहलहैमा शुरू गर्न सक्छन् तर समयक्रममा तिनै पदार्थले उनीहरू विस्तारै अन्य लागूपदार्थको दुर्व्यसनतर्फ धकेलिन पुग्छन्। त्यसैले अभिभावकहरूले यस्तो बेला थप सतर्कता अपनाउनु जरूरी छ।
उ. बदलिंदो, असुरक्षित, अन्योलग्रस्त र असन्तुलित समाज/वातावरण: असन्तुलित, अन्योलग्रस्त समाजमा मानसिक असन्तुलनको जोखिम मात्र बढी हुँदैन, त्यहाँ व्याप्त हुनसक्ने आपराधिक गतिविधि र त्यससँगै जोडिएर आउने लागूपदार्थको ओसारपसार/उपलब्धताले गर्दा पनि लागूपदार्थ दुर्व्यसनको जोखिम बढेर जान्छ।
विभिन्न प्राकृतिक तथा मानवसिर्जित प्रकोपहरूको बेला बढ्ने तनाव र असुरक्षाका कारण पनि लागूपदार्थको दुर्व्यसन बढ्ने देखिएको छ। भूकम्प, बाढी, पहिरो, अनावृष्टि जस्ता विभिन्न प्राकृतिक र मानवसिर्जित प्रकोपहरूको जोखिममा रहेको हाम्रो समाजमा पनि यो जोखिम उच्च छ। विशेषगरी पछिल्लो समयको भूकम्प, कोभिड-१९ को वैश्विक महामारीको अनुभवले पनि त्यो पुष्टि गरेको छ। त्यसैगरी पछिल्लो समय नेपालका धेरै ग्रामीण बस्तीहरू शहरोन्मुख छन् र तिनै शहरहरूमा विशेषगरी किशोरकिशोरीहरू माझ लागूपदार्थको दुर्व्यसनको समस्या विकराल रूपमा बढिरहेको छ।
पहिले भारतको सीमा नजिकका शहरहरूमा सीमित हुने गरेको अफिम लगायतका अवैध लागूपदार्थहरूको दुर्व्यसन संखुवासभाको खाँदबारीदेखि रसुवाको धुन्चेसम्म पनि फैलिरहेको छ। त्यसमाथि दुर्व्यसनमा सुईको प्रयोगबाट गरिने लागूपदार्थको प्रयोग झनै बढेको देखिएको छ। यो निश्चय नै गम्भीर विषय हो।
ऊ. व्यक्तिको स्वभाव/व्यक्तित्व: कतिपय व्यक्तिहरू अरूको कुरा काट्न नसक्ने, “हो मा हो मिलाइहाल्ने” स्वभावका हुन्छन्। यस्तो स्वभावले कतिपय अवस्थामा सामाजिक रूपमा सजिलै घुलमिल हुन सहज भए पनि गलत संगतमा पर्दा त्यस्ता साथीभाइको आग्रह अस्वीकार गर्न नसक्दा दुर्व्यसनमा पर्ने जोखिम बढी हुन सक्छ। यसलाई हामीले व्यक्तिको चारित्रिक कमजोरी भन्दा पनि जोखिमको एउटा कारकको रूपमा बुझ्नुपर्छ र दुर्व्यसनको उपचारका क्रममा यस्ता व्यक्तिहरूलाई उचित मनोपरामर्शले निकै फाइदा पुग्न सक्छ।
समाजमा व्याप्त अर्को एउटा भ्रम ‘दुर्व्यसनको उपचार सम्भव छैन/एकपटक दुर्व्यसनमा परे पछि छुटाउन सकिन्न’ भन्ने छ। यो भ्रम शिक्षित व्यक्ति र कतिपय चिकित्साकर्मीहरूमै पनि व्याप्त छ। चिकित्सा विज्ञानमा आएको विकाससँगै अब विभिन्न पदार्थहरूको दुर्व्यसनको प्रभावकारी उपचार उपलब्ध भए पनि र कतिपय व्यक्तिहरूको त्यसमा पहुँच भए पनि यही भ्रमका कारण दुर्व्यसनको मनोरोग भएका व्यक्तिहरूले उचित उपचार पाइरहेका छैनन्।
त्यसैगरी दुर्व्यसनको रोगलाई चारित्रिक समस्याको रूपमा लिएर त्यसको निराकरणका लागि सजायमूलक विधि अवलम्बन गर्ने अर्को व्यापक भ्रम छ। यस विधिमा मूलत: दुर्व्यसन भएका व्यक्तिलाई लागूपदार्थबाट टाढा राख्न बग्रेल्ती खुलेका (सबै ठीक छैनन् भन्न खोजेको होइन) ‘रिह्याब होम’हरू, जहाँ मुख्य रूपमा व्यक्तिलाई लागूपदार्थको पहुँचबाट टाढा राखिन्छ र उपचार विधिको नाममा मूलत: ‘नैतिक शिक्षा’ पढाउने र ‘अनुशासन” सिकाउने गरिन्छ।
तर दुर्व्यसनको प्रभावकारी उपचारको निम्ति मूल रूपमा बहुविधि (औषधीय, मनोवैज्ञानिक तथा मनोसामाजिक) उपचार पद्धति आवश्यक हुन्छ (किनकि अक्सर दुर्व्यसनको कारण पनि बहुआयामिक हुन्छ)। त्यसैले राम्रै पैसा खर्च गरेर यसरी ‘रिह्याब होम’मा तीन महिनादेखि एक वर्षसम्म राखेर उपचार गरे पनि बाहिर निक्लने बित्तिकै अधिकांश बिरामी फेरि दुर्व्यसनमा फर्किने क्रमले गर्दा पनि कतिपय अवस्थामा समाजमा ‘दुर्व्यसन निको हुँदैन वा दुर्व्यसन भएका व्यक्तिहरूलाई दुर्व्यसनबाट छुटाउन सकिन्न’ भन्ने गलत भाष्य विकसित भएको छ। तर यथार्थ के हो भने निश्चय नै बहुआयामिक र दीर्घ रोग भएकाले दुर्व्यसनको उपचार चुनौतीपूर्ण छ र पटक–पटक असफलता हुन सक्छ तर उचित वैज्ञानिक उपचार गरेको खण्डमा अहिले दुर्व्यसनको प्रभावकारी उपचार सम्भव छ।
सरलीकृत रूपमा भन्दा अध्ययनहरूले देखाए अनुसार सामान्यतया दुर्व्यसनको उपचारमा एक वर्षसम्म दुर्व्यसन रहित हुने यस्तो नतिजा देखिएको छ- १. कसैले आफैं छाड्न खोज्दा १-५ प्रतिशत; २. सेल्फहेल्पका विविध उपायहरू सहित छाड्न खोज्दा ५ प्रतिशत, ३. सामान्य स्वास्थ्यकर्मीको सुझाव, सल्लाह र परामर्शमा ५-१० प्रतिशत; ४. औषधीय वा मनोपरामर्शको एकल विधि उपचारमा १०-१५ प्रतिशत र ५. औषधि, मनोवैज्ञानिक तथा मनोसामाजिक सहितको बहुपद्धति उपचारमा ३० प्रतिशत।
त्यसैले फेरि पनि समग्रमा भन्नु पर्दा लागूपदार्थ दुर्व्यसन व्यक्तिको चारित्रिक वा नैतिक कमजोरी नभई एक जटिल मनोरोग हो र यसको समस्या विश्वव्यापी रूपमा विकराल छ। यसको बहुआयामिक (जैविक, मनोवैज्ञानिक, मनोसामाजिक) कारणहरू छन् तर यसको प्रभावकारी उपचार उपलब्ध छ। नेपालमा पछिल्लो समय लागूपदार्थ दुर्व्यसनको समस्या बढ्दै गएको पाइएको छ र यसको उचित रोकथामको निम्ति नीति निर्माताहरूले बेलैमा ध्यान पुर्याउनु जरूरी छ।
साथै यो विकराल समस्याको सामना गर्न यसका बारेमा हाम्रो समाजमा व्याप्त गलत धारणा, लाञ्छना र कलंकका कारण ठूलो चुनौती खडा भएको छ र त्यसतर्फ पनि सबैले बेलैमा ध्यान दिनु जरूरी छ। आशा गरौं, हामी सबैको सामूहिक सचेतना र प्रयासले उचित उपचार मार्फत फेरि अरू युवाहरूले दुर्व्यसनकै कारण ज्यान गुमाउनबाट बचाउन सकिनेछ र मेरा प्रिय प्राध्यापकले जस्तै अरू धेरैलाई दुर्व्यसनबाट छुटकारा पाउने सफलता मिल्नेछ।
डा. बस्नेत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको मानसिक विभागका सहप्राध्यापक हुन्। उनी अहिले ग्लोबल ब्रेन हेल्थ इन्स्टिच्युट, युनिभर्सिटी अफ क्यालिफोर्नियामा फेलो रहेका छन्।