रविमाथि प्रश्न : प्रहरीले जीबी राईलाई समाउन किन सक्दैन ?


७ चैत, काठमाडौं । ‘पूर्वउपप्रधानमन्त्रीलाई समाउन सक्नेले जीबी राईलाई किन समाउन सक्दैन ?’ सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएपछि गत ८ माघमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भनेका थिए ।

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चिवतनको सहारा लगायतका सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको आरोप लागेका जीबी (गितेन्द्रबाबु) राईलाई पक्राउ गर्न नसकेको भनेर प्रश्न गरेको दुई महिना पनि नबित्दै २३ फागुनमा लामिछाने आफैं गृहमन्त्री बनेका छन् ।

उनले गृहको कार्यभार सम्हालेको दुई साता बितिसकेको छ । राजनीतिमा आउनुअघि रवि लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीबी राईलाई प्रहरीले अझै फेला पार्न सकेको छैन ।

पोखराको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४ चैतमा पोखरामा भेटेरै जीबी पक्राउ पर्नेमा आशंका व्यक्त गरेका थिए ।

‘जीबी राईलाई तुरुन्त पक्राउ गरी ल्याएर हाम्रो बचतकर्ताको समस्या समाधान गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्रीज्यूलाई हामीले निवेदन गर्‍यौ । हुन्छ, हामीले अब जीबी राईलाई जसरी भए पनि समातेर ल्याएर पीडितहरुको पीडा समाधान गर्ने प्रयास गर्नेछौं भनेर उहाँले प्रतिवद्धता जाहेर गर्नुभयो’, श्रेष्ठले अनलाइनखबरसँग भने ।

सरकारबाहिर रहँदा जीबीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारमाथि प्रश्न गरेका रवि आफैं प्रहरीको तालुक मन्त्रालय सम्हाल्न पुगेका छन् । तर उनले गृहमन्त्रालय सम्हालेदेखि जीबी राईबारे एक शब्द पनि बोलेका छैनन् ।

मन्त्री बन्नुअघि उनले सहकारी पीडितबारे भनेका थिए, ‘पीडितहरुले मकै पोलेर, बदाम बेचेर, श्रम गरेर जम्मा गरेको पैसा जसरी पनि फिर्ता दिनुपर्छ भनेर लागेको भए यो एक महिना पर्याप्त थियो । हामीले सकेनौं हजुर भन्नुस्, तयार छु ।’

यता जीबी जोडिएको सहकारी ठगी प्रकरणमा रविविरुद्ध पनि पूरक जाहेरी परेको भन्दै प्रतिनिधिसभामा नेपाली कांग्रेसले रविले राजीनामा दिनुपर्ने माग गरिरहेको छ । उसले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग पनि गरेको छ ।

सहकारी ठगीमा नाम जोडिएपछि फरार भएका जीबीलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालयको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) लाई गत ५ पुसमा पत्राचार गरेको थियो ।

प्रहरी महानिरीक्षक प्रमुख हुने एनसीबीले कास्कीको उक्त पत्रपश्चात जीबी राईविरुद्ध डिफ्युजन नोटिसका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो । इन्टरपोलले १३ माघमा जीबीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो ।

डिफ्युजन नोटिसमात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै पुनः रेड नोटिसका लागि पत्राचार गरिएको थियो । २१ फागुनमा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिस समेत जारी गरिसकेको छ ।

प्रहरी स्रोतका अनुसार जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउनका लागि करिब साढे २ लाख रुपैयाँ खर्चेर कागजात अनुवाद समेत गरेको थियो । गृह र परराष्ट्रको समन्वयमा फागुनको दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन पत्राचार गरिएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकाल जीबीको खोजी भइरहेको दाबी गर्छन् । ‘तपाईंहरुलाई थाहै छ रेड नोटिस जारी भएको छ । नोटिस जारी भएपछि खोजी हुने भइहाल्यो’, उनले भने ।

जीबी जोडिएको सहकारी ठगीको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले गरिरहेको छ । कास्कीका प्रहरी प्रमुख मोहन थापा रेड नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रले उनको खोजी गरिरहेको र फेला पर्नासाथ नेपाल ल्याइने बताउँछन् ।

केही प्रहरी अधिकारीहरु अनौपचारिक कुराकानीमा गृह मन्त्रालयमा रवि लामिछाने पुगेपछि जीबी राईको खोजी प्रक्रिया रोकिएको दाबी गर्छन् । ‘जीबी राई मलेसियामा लोकेट भएको र रेड नोटिस समेत जारी भइसकेकाले तत्कालै नेपाल ल्याउने प्रक्रिया सुरु हुन्छ भन्ने विश्वास थियो । अझ चाँडै ल्याउनुपर्ने भन्ने भएपछि हामीले कुटनीतिक पहल समेत ग¥यौं । लगत्तै सत्ता गठबन्धनमा पनि फेरबदल आयो । अहिले यो विषय गौण बनेको छ’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।

कास्कीका प्रहरी प्रमुख थापा भने इन्टरपोलले रेड नोटिस जारी गरिसकेको अवस्थामा घरेलु राजनीतिले प्रभाव नपर्ने दाबी गर्छन् । ‘देश बाहिर रहेका व्यक्तिलाई इन्टरपोलले पक्राउ गर्ने हुँदा यताको प्रभाव पर्छ जस्तो मलाई लाग्दैन’,उनले भने ।

८ माघमा आयोजित पत्रकार सम्मेलनमा रविले सहकारी पीडितको पैसा जीबीले फिर्ता गर्नुपर्ने बताएका थिए । ‘कुनै समय टेलिभिजनमा सहकार्य गरेको हिसाबले भन्छु–यति धेरै मानिसहरु पीडित छन् । उनीहरुलाई तपार्इं कहिले आएर तिनको पैसा फिर्ता गर्नुहुन्छ गर्नुस् । कुन सम्पत्ति फिर्ता बेचेर फिर्ता गर्नुहुन्छ गर्नुस् । मकै पोलेर जम्मा गरेकाहरुको पैसा जस्ताको त्यस्तै ब्याजसहित संसारको जुन कुनामा भए पनि फिर्ता गर्नुस्’, रविले जीबी राईलाई सम्बोधन गर्दै भनेका थिए ।

यसअघि जीबी, रविसँगै सहकार्य गरेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा २४ माघमा छापा मारेर प्रहरीले चार वटा सर्भर बरामद गरेको थियो । उक्त सर्भरमाथि अनुसन्धान गर्न भन्दै तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा सीआईबीको आर्थिक अपराध हेर्ने पिलरका इन्सपेक्टरसहित दुई जनालाई पोखरा पठाइएको थियो । उक्त सर्भरमा जीबी जोडिएका सहकारीका करिब १० अर्ब बराबरको कारोबार भेटिएको थियो ।

बरामद सर्भरहरुमा पोखराको सूर्यदर्शन सहकारीसँगै चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला र बुटवलको सुप्रिम सहकारीको कारोबार भेटिएको थियो ।

सूर्यदर्शन सहकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै उक्त सहकारीका पदाधिकारीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । पछि वचतकर्ताले पुनः रवि लामिछानेसहितका केही व्यक्ति विरुद्ध पूरक जाहेरी दिएका छन् । तर प्रहरीले त्यसलाई छुट्टै दर्ता गरेको छैन ।

सहकारी प्रकरणमा पहिल्यै जाहेरी परेर मुद्दा चलेकाले नयाँ जाहेरी दर्ता गर्नुनपर्ने भएकाले दर्ता नगरिएको एसपी थापा बताउँछन् ।

जीबीसहित १४ अझै फरार

जीबी मात्रै नभएर सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका १४ जना अझै फरार छन् ।

फरार हुनेहरुमा पूर्वअध्यक्ष जीबीसँगै उनका दाजू भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, कविता तामाङ, आइस्मा गुरुङ, ललिता तामाङ, सागर केसी, दिनेश रोका, लेखा अधिकृत सृष्टि मानन्धर र लोन अधिकृत बुद्धि गुरुङ छन् ।

१९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School