भलिभाँती फलिफाप होस्


हरेक दिन नयाँ दिन। हर क्षण नयाँ क्षण। तिनैको सौन्दर्यमा पुलकित मन। पुरानो बनेको सालबाट पाठ सिक्दै नयाँ साललाई सुस्वागतम् ! महाकवि कालिदासले भनेजस्तै– ‘क्षणे–क्षणे यन्नवतामुपैति तदेव रूपं रमणीयतायाः।’

नयाँ साल सबैलाई भलिभाँती फलिफाप होस्। सबैको शुभमंगल होस्। सबैलाई स्वास्थ्यलाभ भइरहोस्। नयाँ सालमा कामका नवीन शैली अपनाइयोस्। पुरानो सोच बदलियोस्। नयाँ चाल, ढाल र भाव उदाओस्। नवीनतम उत्साह र उमंग बटुल्न सकियोस्। उन्नति र प्रगतिको बाटो समाएर कस्तै कठिनमा पनि सहजै पार पाउन सकियोस्।  

भर्खरै बिदा भएको सालमा गरिएका कामको लेखाजोखा गर्दै सच्चिने र सुध्रिने कर्ममा ध्यान जागोस्। नयाँ सालमा नयाँ कामको योजना बनाएर कामले गति समातोस्। नयाँ सालको घामले नपोलोस्। रुखोबाँझो, सुक्खा र सौन्दर्यविहीन कसैलाई नपारोस्। कोही कसैसँग कसैले पनि कुनै किसिमको बिछोडको पीडा भोग्नु नपरोस्। तनावले हैरान र दुःखले सास्ती ब्यहोर्नु नपरोस्। सबैजना सधैं आमुन्ने–सामुन्ने शुभेच्छा र शुभकामना साटफेर गर्न पाइयोस्।

वर्ष दिनभरि मुस्कानमय आभा मुहारमा छाइरहोस्। मित्रताको मार्ग प्रशस्त बनोस्। बाधा–अवरोधले बाटो छेक्न नआओस्। काँडालाई पनि फूल भनेर टेकियोस्। शत्रु कसैको कोही नहोस्। भएमा पनि पूर्ववत् मित्रता कायम रहोस्। आकाशजस्तो फराकिलो सोचाइ होस्। बेंसीको धानबालीजस्तो अन्न–ऐश्वर्यले फलिफाप होस्।

वर्ष फेरिएजस्तो मन नफेरियोस्। १२ महिनामै वर्ष ढलेजस्तो जीवन नढलोस्। सिसा फुटेजस्तो सम्बन्ध र साथ नटुटोस्, नफुटोस्। माला गाँसेजस्तो एकपछि फेरि अर्को सिलसिला बनिरहोस्। सुगन्ध र सौन्दर्ययुक्त त्यही मालाजस्तो सबैको मनमा, सबैको गलामा बस्न र बाँच्न सकियोस्। यस्तो शुभेच्छा सबैमा जागृत होस्।

मायाको लहरोले डो¥याउँदै भड्खालोमा नजाकोस्। निर्मायाको जालोले नजेलियोस्। अन्तर्घातको अप्ठ्यारोमा नफसियोस्। व्यर्थै गालीगलौजमा समयलाई नजिस्क्याओस्। बोलीको मिठासले रिसको आगोलाई पनि निभाउन सकियोस्। मिथ्या आरोप, शङ्का, षड्यन्त्रको चक्रमा फसेर कोही कसैको अमूल्य जीवन बर्बाद नहोस्।

सानो कुराले व्यर्थ मन नधमिलियोस्। कसैको मन नदुखाइयोस्। कसैको मनमा ठेस नलगाइयोस्। कसैलाई चित्त दुखाएर नरुवाइयोस्। श्रद्धा रहोस्, सप्रेम सम्बन्ध कायम रहोस्। सबैको शुभमंगल होस्। उन्नति, प्रगति, उत्साह, उमंगले सधैं उल्लास थपिरहोस्। सबैको जय होस्। विजय होस्। कसैको पनि पराजय नहोस्। कोही कसैले पनि पराजयको चोट भोग्नु नपरोस्।

रोग लागेर ओछ्यान नपरियोस्। ठेस लागेर अलच्छिन नजागोस्। ऋण लागेर घरखेत नजाओेस्। कसैको नजरबाट कहिल्यै नगिरियोस्। कसैको कुभलो नचिताइयोस्। कसैले औंला बिनाकारण ठड्याउने हिम्मत नगरोेस्। कसैको दोष नलागोस्। बरु सबैप्रति असीम मायालु भावना जागिरहोस्। अरूको पनि आफूप्रति यस्तै सद्भाव जागोस्।

दुःखको आँसु रित्तियोस्। सुखको हाँसो निम्तियोस्। हाँसो कहिल्यै नरित्तियोस्। हरदम खुसी छचल्किरहोस्। अहम् नआओस्। ममता जागोस्। समयले फड्को मारोस्। समयलाई उछिनेर काम गर्न सकियोस्। बलेंसीमा पानी नपोखियोस्। खुसी नसिद्धियोस्। बरु विपत्ति र विसंगतिले साथ छोडोस्। तर प्रेम, सद्भाव, शुभेच्छा र सत्कर्मले कहिल्यै साथ नछोडोस्।

गति नरोकियोस्। मति नबिग्रियोस्। खति नहोस्। गतिशीलता नै पहिचान बनोस्। मतिभ्रष्ट कोही नभई सिर्जनात्मक कर्ममा सबैको ध्यान जाओस्। कसैको सत्तोसराप खान नपरोस्। प्रेम पाइयोस्। माया मिलोस्। दुःख भागोस्। सुख र सन्तुष्टि पाइला–पदचापमा साथै रहोस्।

हामीले बोलेका कुरामा सत्यता होस्। झुटको खेती र स्वार्थको जञ्जालमा कोही नफसोस्। शब्द–शब्दमा मृदु–माधुर्य भाव झल्कियोस्। मुस्कानसहितको बोली र व्यवहारले प्रभाव पार्न सकियोस्। कसैलाई नछक्याइयोस्। कसैबाट छक्किनु नपरोस्। कसैले कुरा नकाटोस्। कसैको कुभलो नहोस्। मिठो निद्रा लागोस्। आरामको जीवन बाँचियोस्। आनन्दको मरण होस्।

कसैले पनि अरू कसैको गास खोस्ने काम नहोस्, नखोसियोस्। कसैको आश नमरोस्। कोही निराश बस्नु नपरोस्। कसैको पनि साथ नछुटोस्। सम्बन्ध नटुटोस्। सास छउन्जेल माया रहोस्। श्रद्धाञ्जलीका दुई थोपा आँसु झरोस्। सलामी नखाए पनि मलामी नघटोस्। मरेपछि पनि श्रद्धा जागोस्। पाउनु केही छैन, गुमाउनु पनि केही नहोस्। धेरै लोभीपापी र लालची, अल्छी आलस्यमा जीवन खेर नजाओस्।

जीवनको यात्रा नदीजस्तो सदा गतिमान रहोस्। सम्बन्धको स्वरूप हिमालजस्तो चुलियोस्। दुःखको पहाड सदाका लागि ढलोस्। सुखको सागर भने अझै गहिरिँदै जाओेस्। हिँडेको बाटोले गन्तव्यमा पु¥याएर छाडोस्। नचिनेको ठाउँमा अलपत्र पारी विजोग बनाएर नछाडोस्।

स्नेह र प्रेमले सबै प्रियजनलाई स्वागत गर्न पाइयोस्। अभिमानीहरूले जित हासिल गरे तापनि स्वाभिमान कहिल्यै नझुुकोस्। अज्ञानीहरूसँग हार खानु परे पनि ज्ञानीगुनीसँगको साथसंगत सदा कायम रहिरहोस्। दुःखको भड्खालोमा भाँसिएर पनि कसैसँग हात थाप्नु नपरोस्। सधैंभरि आफ्नोपन कायम रहोस्।

आँसुले नै भए पनि आफ्नो अनुहार सिँगार्न सकियोस्। समृद्धिले भरिभराउ नभए पनि त्यसैमा चित्त बुझाएर रमाउन सकियोस्। त्यसमै अपार सुखको अनुभूति महसुस गर्न पाइयोस्।

छेलोखेलो नभए पनि सबैलाई खुवाउन र सन्तोषले मिठो खान सकियोस्। छ भन्दैमा आफलताफल नगरियोस्। अनिकालको बिउ जोगाउँदै वर्षादमा उन्नत खेती उब्जनी गर्न सकियोस्। जाँगर नमरोस्। जोश नसेलाओस्। कसैको प्रगतिको बाधक कोही नबनोस्। साझाहित र सामूहिक भलाइमा काम गर्ने वातावरण मिलिरहोस्।

स्वार्थरहित निःस्वार्थ कामतमामको भलिभाँती फलिफाप होस्। मिठो आशामा निराशाको घोर आपत्तिले अँगाल्न नआओस्। हिँड्दा–हिँड्दैको पाइला टक्क रोकिएर बिचबाटोमै अलपत्र नपरियोस्।

कसैले दिनदहाडै बिनाप्रमाण प्रहार गरेका आरोप तत्कालै मिथ्या साबित भइदिओस्। वचन वाणले कोमल मुटु छियाछिया भएको देख्न र सुन्न कदापि नपरोस्। व्यर्थका रिसराग युक्त कटु बोली र व्यवहारले दिएका चोट चटक्कै बिर्सिन सक्ने धैर्य र शक्ति मिलोस्। यिनका विरुद्ध कुनै बदलाको भावना नजागोस्। बरु खुसीको हँसिलो मुहारसहित सहनशीलता आओस्। ती वचनवाणलाई आदरपूर्वक फिर्ता गर्न सकियोस्।

पठन संस्कृति हरायो, बिक्रीव्यवसाय सुस्तायो भन्दैमा प्रकाशन नरोकियोस्। लेखनकर्ममा खडेरी नलागोस्। अन्तर्मनको अनुभूति पोख्ने कलम नसुस्ताओस्। सम्मान र पुरस्कार पाइएन, लेखकहरूलाई राज्यले केही वास्ता गरेन भन्ने गुनासो नगरियोस्। तथापि लेखकीय कर्मले झन् जोडदार सिर्जनाको खेती गर्न तनमन जुट्न सकोस्। निराशाको विकल्पमा आशाको दीप प्रज्वलित भइरहोस्। निन्याउरा, निम्सरा ढुकढुकीहरूसम्म उत्साहको स्पर्शले आशीर्वादको फल फलाओस्।

खेत–खलियानका उब्जाउ अन्नपानीले सह राख्दै सदा जीवनलाई दीर्घजीवी राखोस्। वेदनाका घाउ घटोस्। अहम्को  अनावश्यक भाउ चाहिँ नबढोस्। जश पाइयोस् तर अपजशको भारी बोक्न नपरोस्। गुनको बदला बैगुनले होइन, गुनैले तिर्न सकियोस्। दशा नलागोस्। दिनदशा नबिग्रियोस्। चोर नपल्कियोस्। हामी प्रत्येकको मुखारबिन्दबाट अमृतवाणी ननिस्किए पनि श्रुतिमधुर बोली बोल्न सकियोस्।

निस्सासिएको धरती र तुवाँलोले ढाकिएको आकाश नहोस्। प्रकृति र पर्यावरण कहिल्यै नधमिलियोस्। कुनै वातावरण विरोधीबाट स्वच्छ परिवेश धमिल्याउने कोसिस नगरियोस्। कर्कश गर्जन र गुनासो कसैको नहोस्। पखारेर विषाक्त धुवाँ र धुलो मौसम सदा शरद् यामका जस्तै सिनित्त बढारिएको सफा होस्।

वसन्तको पालुवाले उन्मुक्त जवानी–जीवन बाँच्न पाओस्। शिशिरको कठिन दिनमा पनि धैर्य र साहसले बाँच्न सकियोस्। वर्षादको बाढी, दैवीप्रकोपजस्ता घटनाले जीवनधाम शून्यतामा विलीन नगराओस्। बरु मगमग जिन्दगी मगमगाएर सबैलाई प्रेरणा दिन सकोस्।

 हर दिन नयाँ र हर क्षण नवीन सोच समग्रले मन भरिभराउ होस्। नोक्सानी होइन, प्रत्येक दिन केही न केही फलिफाप होस्।

प्रकाशित: २२ वैशाख २०८१ ०९:२४ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School