विश्वविख्यात चित्रकार जेएम डब्लू टर्नरले आफ्नो जीवनको अन्तिम समय बेलायतको मार्गेट शहरमा बिताएका थिए । उनै टर्नरको कलाबाट प्रभावित एक उम्दा चित्रकार टर्नरकै कारण अहिले सोही शहरमा बस्छन्, जुनसुकै बेला चित्रमा डुबिरहन्छन् । उनी एक नेपाली हुन् भन्ने थाहा पाउँदा हामी मार्गेट पुगेर उनलाई भेट्न आतुर थियौं । उनै चित्रकार अर्थात् गोविन्द साह ‘आजाद’ ।
हामी मार्गेटस्थित साहको निवास पुग्दा उनी निकै सरल हुलियामा कुची र ब्रस लिएर रंगहरूसँग लत्पतिएको अवस्थामा भेटिए । उनीसँग भेट हुनासाथ माहोल नै यस्तो बन्यो कि अन्य औपचारिकता भन्दा चित्रकारिताबारे छलफल सुरु गरौं ।
आजादले आफूले बनाइरहेको चित्रबारे भने- ‘हामीले महसुस गरिरहेको तर छुन र देख्न नसकेको शक्तिलाई चित्रमा उतार्ने प्रयास गरिरहेको छु, बादल जो देखिन्छ समाउन सकिन्न, प्रकाश जो देखिंदैन त्यसभित्रको सप्तरंग बादलले देखाइदिन्छ, हो त्यही बादल र प्रकाशको लुकामारीलाई चित्रमा उतारिरहेको छु ।’
प्रकृति र प्राकृतिक शक्तिको जीवन्त चित्र कोर्ने आजादका कलाहरू जति कलात्मक छन्, उनको अभिव्यक्ति र जवाफमा पनि त्यत्तिकै शालीनता, गहिराइ र कला भेटिन्थ्यो । हामीले सोध्यौं– ‘एउटा चित्र पूर्ण हुन कति समय लाग्छ ?’
उनले चित्र जस्तै रंगीन जवाफ दिए– ‘चित्र कोर्दा हरेक पल बन्दै गरेको आकृतिसँग म गहिरो संवाद गरिरहेको हुन्छु र रंग भर्दै गर्दा चित्रले आफैं भन्छ-अब म पूर्ण भएँ ।’
आजादको घर नै एउटा पूर्ण चित्रकला स्टुडियो जस्तो थियो । जसरी कोही गायक वा कविको गायन वा साहित्यप्रति चासो दिंदा उनीहरू निष्फिक्री प्रस्तुत हुन्छन्, त्यस्तै भयो आजादलाई पनि र बेलीविस्तार लगाउन थाले आफ्ना चित्रहरूबारे ।
… त्यसपछिको उनको अर्को गन्तव्य लण्डनमा रहेको अक्टोबर ग्यालरी हो । सो ग्यालरीमा सूचीकृत हुनु एउटा चित्रकारका लागि ठूलो सपना र उपलब्धि हुने गर्दछ । विश्वभरिबाट जम्मा ३६ जना चित्रकार उक्त ग्यालरीमा सूचीकृत छन् । जसभित्र गोविन्द साह ‘आजाद’को नाम पनि समावेश छ । हालसम्म अक्टोबर ग्यालरीमा चार पटक आजादको एकल चित्रकला प्रदर्शनी भइसकेको छ
उनको घरको भित्तामा सजिएको भगवान् गौतम बुद्धको एउटा चित्रले हाम्रो ध्यान तान्यो । सन् २००१ मा नेपालमै बनाएको चित्र थियो त्यो । एकदिन उनले स्वयम्भूनाथमा आगो लागेको सपना देखेछन्, त्यो समय उनलाई निकै नराम्रो लागेछ । संयोग पनि कस्तो, त्यसको केही दिनमै दरबार हत्याकाण्ड हुनपुग्यो ।
अर्कोतिर देशमा माओवादी युद्ध जारी थियो । यस्ता घटनाबाट आहत भएका आजादले शान्तिको सन्देश दिन प्रतीकात्मक रूपमा बुद्धको छाती छिया–छिया भएको चित्र कोरेका रहेछन् । जुन चित्रले त्यतिबेला जापानमा भएको अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्राथमिकताका साथ स्थान पनि पाएको थियो ।
उनको अर्को चित्र पनि बुद्धसँगै सम्बन्धित थियो । जुन उनको भित्तामा अटिरहेको थिएन, पुस्तकमा समेटिएको उक्त चित्र ‘लुम्बिनी दि ब्लेस ल्याण्ड’ को नाममा थियो र बेलायत पुगेपछि आफूले लुम्बिनी यात्रा गरेको क्षण सम्झिएर बनाएका थिए । चित्र देखाएर मुस्कुराउँदै उनले भने, ‘प्रदर्शनीमा राखेका बेला कैयौं मानिस सो चित्र अगाडि ध्यान गर्न थाल्छन्, जसबाट आफूलाई निकै ठूलो शक्ति र आनन्द प्राप्त हुन्छ ।’
पछिल्ला वर्षहरूमा आजाद आफ्ना चित्रहरूमा प्राकृतिक शक्ति र विज्ञानको फ्युजन गराउन मन पराउँछन् । आफूले बनाएको त्यस्ता कैयौं आकृतिबारे उनले हामीलाई विस्तृतमा बताए । उनका हरेक कलाका आ-आफ्नै प्लट र कथाहरू थिए, सबै उत्तिकै जीवन्त र उत्कृष्ट ।
आफूले बनाएको ब्ल्याकहोलको चित्र देखाउँदै उनले भने, ‘मेरो यो चित्रबारे अमेरिकाको हार्वर्ड युनिभर्सिटीको आर्ट सम्बन्धी कार्यक्रममा बहस भएको थियो र प्रोफेसर लिन गाम्बेलले मेरो चित्रबारे दिएको प्रस्तुतिले चर्चा पाएको थियो । गाम्बेलको पुस्तक ‘ब्ल्याकहोल एस्थेटिक्स’ प्रिन्सटन युनिभर्सिटीले प्रकाशित गर्न लागेको छ र त्यसमा मेरा ‘ट्रयाप विथइन’ र ‘नथिङ एभ्रिथिङ’ नामक दुई चित्र समेटिएको छ ।’
निवास नजिकै मार्गेटमै उनले भर्खरै आफ्नो छुट्टै चित्रकला स्टुडियो पनि बनाएका रहेछन् । उनको अधिकांश समय त्यही स्टुडियोमा बित्छ । जहाँ उनले आफ्नो विगतदेखि वर्तमानसम्मका चित्रहरू सुरक्षित राखेका रहेछन् ।
त्यसपछिको उनको अर्को गन्तव्य लण्डनमा रहेको अक्टोबर ग्यालरी हो । जुन विश्वकै प्रतिष्ठित ग्यालरीमध्येको एक हो र सो ग्यालरीमा सूचीकृत हुनु एउटा चित्रकारका लागि ठूलो सपना र उपलब्धि बन्ने गर्दछ । विश्वभरिबाट जम्मा ३६ जना चित्रकार उक्त ग्यालरीमा सूचीकृत छन् । जसभित्र गोविन्द साह ‘आजाद’को नाम पनि समावेश छ ।
हालसम्म अक्टोबर ग्यालरीमा चार पटक आजादको एकल चित्रकला प्रदर्शनी भइसकेको छ । त्यसबाहेक वर्षेनि हुने सामूहिक चित्रकला प्रदर्शनीमा उनका चित्रहरूले महत्वपूर्ण स्थान पाउँदै आएका छन् ।
यति मात्रै कहाँ हो र, हरेक वर्ष विश्वका प्रतिष्ठित ग्यालरीहरूमा उनको चित्रकला प्रदर्शनी हुने गर्दछ र त्यसको सबै चाँजोपाँजो अक्टोबर ग्यालरीले नै मिलाइदिन्छ । त्यस्तै प्रदर्शनी मार्फत उनका केही मूल्यवान् कलाहरू आवुधावी रोयल फ्यामिली, बाग्री फाउण्डेशन युके लगायतका महत्वपूर्ण स्थानहरूमा समेत संग्रहित छन् ।
नेपालदेखि बेलायतसम्म
नेपालको सिरहामा जन्मिएका गोविन्द साह चरम गरिबीमा हुर्किए । आमा राधादेवी साह र बाबु रामचन्द्र साहको ६ सन्तानमध्येका चौथो हुन् उनी । उनलाई यत्ति थाहा छ कि, आफू बुझ्ने र सम्झने भएदेखि नै चित्र बनाउन मन लाग्थ्यो । दुःख गरेर स्कुल पठाएका बावु–आमालाई उनले धेरै पटक दुःखी बनाए । कैयौं पटक बावुको गाली र थप्पड पनि खाए तर चित्रकारिताप्रतिको उनको लगाव घट्नुको साटो झन्-झन् बढेर गयो ।
एसएलसीको परीक्षा दिएपछि त उनी बाबुआमाको असन्तुष्टि सुन्नबाट अलि पर पुगेर आजाद हुन चाहे । त्यसैले त घर छाडेर सुटुक्क छिमेकी देश भारततर्फ लागे । जस्तो भन्यो त्यस्तै अक्षर र आकृति चित्रमा तुरुन्तै उतार्न सक्ने विशेष खुबी भएका गोविन्दलाई भारतमा कामको खाँचो हुने कुरै थिएन ।
एकातिर घरको आर्थिक अवस्था कमजोर हुनु, अर्कोतिर आफूले जानेको र मन पर्ने सीपका कारण आयआर्जन पनि हुन थाल्नु, यसले गोविन्दमा आत्मविश्वास बढायो । त्यतिबेलासम्म छोराले राम्रो पढ्ला र डाक्टर या इन्जिनियर बन्ला भन्ने बावु–आमाको सपना टुटिसकेको थियो र गोविन्दलाई उनले चाहेकै पेशामा छुट मिलिसकेको थियो ।
आजादलाई सधैं खट्किने कुरा के भने नेपालमा आफूले पढेको पाठ्यक्रम कमजोर थियो, त्यसले नेपालको मौलिकता बोकेको थिएन । जसमा न मिथिला संस्कृति सिकाइन्छ, न इतिहास, न संस्कृति सिकाइन्छ । नेवारी संस्कृतिको जरो पौभा चित्रकारहरूको इतिहास र नेपालको परापूर्व कालको कलालाई पनि महत्व दिइएको छैन । अरनिकोको कलालाई जसरी पढाइनु र जगेर्ना गर्नुपर्थ्यो त्यो भइरहेको छैन
केही समय उनले नयाँदिल्लीमा साइनबोर्ड लेख्ने काम गरे । जुन कामले उनलाई थप अनुभवी बनायो । लगत्तै उनले मारुती गाडी बनाउने कम्पनीमा साइनबोर्ड लेख्ने काम पाए । तलब पनि उनले सोचे भन्दा धेरै । त्यतिबेला हो उनलाई चित्र कोरेरै पनि जीवन धान्न सकिन्छ भन्ने लागेको । त्यसो त, उनी धेरै समय दिल्लीमा टिक्न सकेनन् । दाजु काठमाडौं पढ्ने भएपछि उनी पनि काठमाडौं पुुगे ।
काठमाडौंमा आफूले जानेको त्यही साइनबोर्ड लेख्ने पसल खोले । ठमेलमा खोलेको साइनबोर्ड पसलमा पर्यटन व्यवसायीको नजर पर्यो र पर्यटकलाई नेपाली सामान बेच्ने एक व्यवसायीले उनलाई एउटा चित्र बनाउन आग्रह गरे । आजादले बनाएको ॐ माने पद्मे लेखिएको तीन चारवटा चित्र एकै दिनमा बिक्री भएछ । त्यसपछि त यस्तो भयो कि, उनले जति चित्र बनाए पनि एकैदिनमा बिक्री हुन थाल्यो । त्यसले उनलाई आर्थिक रूपमा पनि बलियो बनाउँदै लग्यो ।
उनी त्यसमै रमाउँदै गर्दा उनको चित्रकला यात्रामा अर्को ट्वीस्ट आयो, जब उनले कृष्णगोपाल रञ्जितको कला देखे । काठमाडौंको सामाखुसीमा आफ्ना चित्र सुकाइरहेका कलाकार रञ्जितलाई देखेपछि उनी सरासर गए र आफूलाई पनि यस्तै चित्र कोर्न सिकाइदिन आग्रह गरे । रञ्जितले उनको चित्र हेर्न चाहे । आजादले उनलाई प्रभावित पार्ने गरी तुरुन्तै चित्र बनाएर देखाइदिए । त्यसपछि रञ्जितले ललितकला क्याम्पस पढ्न सुझाए ।
त्यतिबेला दाजु जागिर खान थालिसकेकाले उनलाई ललितकला पढ्न सहज भयो । ललितकलामा ब्याचलर इन फाइन आर्टस् पढुञ्जेल उनी सबैभन्दा पृथक् र ऊर्जाशील विद्यार्थी बने । त्यसताका उनले नेपालकै सबैभन्दा ठूलो आकारको चित्रहरू कोरे, जुन चित्रहरू अहिले पनि काठमाडौंको भोजनगृहमा सुरक्षित छन् ।
नेपालमा उनले सन् १९९९ देखि भोजनगृहबाट एकल चित्रकला प्रदर्शनी सुरु गरे । जसमा ऐतिहासिक चित्रहरू समेटिएका थिए । त्यतिबेलै उनले झण्डै एक लाखको चित्र बेचे । त्यही पैसा लिएर उनी चित्र मार्फत शान्तिको सन्देश फैलाउन भन्दै मेची–महाकाली साइकल यात्रामा निस्किए ।
एकल साइकल यात्राको क्रममा आफू पुगेका हरेक जिल्लामा चित्रकला प्रदर्शनी गरे । कैयौं ठाउँका लागि त त्यो नयाँ र पहिलो अनुुभव थियो । उनी भन्छन्, ‘त्यतिवेला मेरो कामलाई मिडियाले समाचारको रूपमा स्थान पनि दिए’ (हल्का हाँसो) ‘आज ती मिडियालाई गोविन्द आजाद कहाँ छ, थाहै छैन होला !’
डेभिड उडको साथ
चित्रकलाले उनलाई धेरै पैसा नदिलाए पनि कलाप्रेमीहरूसँगको सम्बन्ध विस्तार गरायो । उनका चित्र किन्नेहरूमध्ये अधिकांश विदेशी कूटनीतिज्ञहरू हुन्थे । सोही क्रममा उनको भेट भयो डीएफआईडीका तत्कालीन नेपाल प्रमुख डेभिड उडसँग । डेभिडले उनको चित्रकला मन पराए, आजादलाई खोज्दै सम्पर्कमा आए र चित्रहरू किन्ने मात्रै होइन, उत्साह दिने र प्रदर्शनी गर्न सहयोग गर्न थाले ।
सो समय गोविन्दले भर्खर ब्याचलरको अध्ययन सकेका थिए । नेपालमा मास्टर लेभलको पढाइ थिएन । जतिबेला गोविन्द र डेभिडको सम्बन्ध प्रगाढ हुँदैथियो त्यतिबेलै डेभिड बंगलादेश सरुवा भए र गोविन्दलाई बंगलादेश नै पढ्न बोलाए । खुसी हुँदै बंगलादेश पुगे पनि उनले मास्टर्स पूरा गर्न सकेनन् कारण गोविन्दको पढाइ पूरा नहुँदै डेभिड युके फर्किए । शाकाहारी गोविन्दलाई बंगलादेशको बसाइ कठिन भइरहेको थियो ।
युरोपको चित्रकला हेर्यो भने उनीहरूको सभ्यता, इतिहास र युद्धका थुप्रै चित्र भेटिन्छन् तर नेपालमा त्यस्तो हुन सकेन । पश्चिमा पाठ्यक्रमको नक्कल गर्दा मौलिकता छायाँमा पर्यो । नेपाल आफैंमा मौलिक कला र संस्कृतिको धनी छ तर त्यसलाई जोगाउने र अन्तर्राष्ट्रिय रूपमा चिनाउनेतर्फ ध्यान पुग्न कहिल्यै सकेन
सोही समय डेभिडले उनलाई बेलायत आउने भए आऊ भन्ने खबर गरे । उनी खुसी हुँदै बेलायत पुगे । बेलायतमा भने जस्तो कलेजमा चित्रकला पढ्न पाउनु सहज थिएन । तर उनलाई भाग्यले पनि साथ दियो र विम्बल्डन कलेज अफ आर्टस्मा मास्टर्स पढाइका लागि नाम निकाले । जहाँको पढाइले उनमा आत्मविश्वास भरियो र अन्तर्राष्ट्रिय कला पारखीहरूको नजरमा पर्दै गए ।
अर्को फड्को अक्टोबर ग्यालरी
विम्बल्डनको पढाइ सकिएपछि गोविन्दका परिवारका सदस्य चाहन्थे कि उनले चित्र बाहेक केही अर्थोपार्जनको काम गरुन् । उनलाई बेलायतसम पुर्याउने डेभिड समेत उनको परिवारको पक्षमा थिए । तर उनले त्यसतर्फ केही चासो नै दिएनन् । बरु आँट गरेर साउथ लण्डनमा आर्टिस्ट स्टुडियो कम्पनीमा एउटा आर्ट स्टुडियो भाडामा लिए र त्यहीं चित्र कोर्न तल्लीन हुन थाले । त्यहाँ आफ्नै पहलमा कलाकारहरूसँग अन्तरक्रिया गर्न थाले ।
जहाँ प्रोफेसरदेखि विश्वविख्यात र महँगा चित्रकार पनि थिए तर एक अर्कामा चिनजान थिएन । उनीहरूबीच चिनजान र अन्तरक्रिया नै आजादले गराइदिए । जसले उनलाई सबै माझ अझ प्रगाढ रूपमा चिनिने अवसर मिल्यो । सोही क्रममा उनी अक्टोबर ग्यालरी भिजिट गर्न पुगे । त्यहाँ आफ्नो कला प्रदर्शनी गर्ने सपना देखे र आफ्ना चित्रहरू सहित आवेदन पनि दिए तर उनको आवेदन अस्वीकृत भयो ।
त्यसो त, ग्यालरीमा चित्रकला प्रदर्शनीसँगै अन्य कार्यक्रम पनि हुन्थे । उनी त्यहाँ हुने केही फिलोसफिकल अन्तरक्रियामा सहभागी भए । ग्यालरीले आफ्नो चित्रलाई महत्व नदिए पनि अन्तरक्रियामा अडियन्सको रूपमा सहभागी हुन थाले । एक दिन इन्फिनिटी एण्ड रियालिटी बारे छलफल चलिरहेको थियो, जहाँ उनले आफ्नो ब्ल्याकहोल नामक चित्र देखाउँदै इन्फिनिटीको बारेमा मत राखे । जुन चित्रको त्यहाँ व्यापक चर्चा भयो र सबैले मन पराए ।
त्यसपछि केही मानिस उनको स्टुडियो हेर्न र उनलाई भेट्न आए अनि उनलाई अक्टोबर ग्यालरीमा प्रदर्शनी गर्न स्वीकृति दिने बताए । सुरुमा त उनलाई पत्याउनै गाह्रो भयो, किनकि उनी तिनै चित्रहरू लिएर पहिल्यै ग्यालरी पुग्दा अस्वीकृत भएका थिए । तर, उनलाई यस्तो आग्रह गर्ने व्यक्ति अरू कोही नभई ग्यालरीकै निर्देशक थिए । यो सन् २०१० को कुरा थियो । त्यसपछि सन् २०११ मा उनको पहिलो एकल चित्रकला प्रदर्शनी भयो ।
नेपालबारे चिन्ता र असन्तुष्टि
आजादलाई सधैं खट्किने कुरा के भने नेपालमा आफूले पढेको पाठ्यक्रम कमजोर थियो, त्यसले नेपालको मौलिकता बोकेको थिएन । जसमा न मिथिला संस्कृति सिकाइन्छ, न इतिहास, न संस्कृति सिकाइन्छ । नेवारी संस्कृतिको जरो पौभा चित्रकारहरूको इतिहास र नेपालको परापूर्व कालको कलालाई पनि महत्व दिइएको छैन । अरनिकोको कलालाई जसरी पढाइनु र जगेर्ना गर्नुपथ्र्यो त्यो भइरहेको छैन ।
युरोपको चित्रकला हेर्यो भने उनीहरूको सभ्यता, इतिहास र युद्धका थुप्रै चित्र भेटिन्छन् तर नेपालमा त्यस्तो हुन सकेन । पश्चिमा पाठ्यक्रमको नक्कल गर्दा मौलिकता छायाँमा पर्यो । नेपाल आफैंमा मौलिक कला र संस्कृतिको धनी छ तर त्यसलाई जोगाउने र अन्तर्राष्ट्रिय रूपमा चिनाउनेतर्फ ध्यान पुग्न कहिल्यै सकेन ।
आजाद भन्छन्, ‘विश्वका जुनसुकै ठाउँमा चित्रकला प्रदर्शनी हुँदा चित्रसँगै आफू, आफ्नो देश र परिवेशका बारेमा पनि जान्न चाहन्छन् । आफू नेपाली भएको बताउँदै गर्दा देशप्रेम र देशका लागि केही गरौं भन्ने भाव झनै जाग्दो रहेछ ।’
त्यसैले नेपालको मौलिक कलालाई कसरी विश्वमाझ स्थापित गर्ने भन्ने विषय नै आजकल मनमा आइरहन्छ, गोविन्द भन्छन् । आजादलाई भेटेर फर्किंदै गर्दा उनले गरेको संघर्ष, प्राप्त गरेको सफलता, जीवन, जगतलाई उनले गर्ने विश्लेषण र उनीभित्रको देशप्रेमले हाम्रो मनलाई पनि झञ्कृत र हर्षित गराइरह्यो ।