प्रकाशित मिति : श्रावण १७, २०८१ बिहीबार
पासाङ ल्हामु शेर्पाको उल्लेखनीय जीवनयात्राबारे पासाङ इन द स्याडो अफ एभरेष्ट अमेजन प्राइममा आएको छ । पासाङ ल्हामु शेर्पाले अप्रिल २२, १९९३ मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेर इतिहास रचेकी थिइन् । लेखक शेरोन वुडद्वारा निर्मित र न्यान्सी स्वेन्डसेनद्वारा निर्देशित यो बृत्तचित्रले पासाङको जीवनको प्रेरणादायी, साहसी र दुःखद कथालाई कुशलतापूर्वक एकसाथ बुनेको छ।
जसमा पासाङको जीवनको गहन अन्वेषण रहेको बृत्तचित्रमा उनको जीवनका विभिन्न चरणहरूमा प्रकाश पारिएको छ । एक रूढिवादी नेपाली परिवारमा सामाजिक मान्यताहरू तोड्नेदेखि १७ वर्षको उमेरमा भागेर विवाह गर्ने, विवाहको लागि पारिवारिक असन्तुष्टिको सामना गर्ने, अंग्रेजी सिक्ने र आफ्नो पतिको व्यवसायमा सक्रिय रूपमा भाग लिने लगायतका विषयहरु वृत्तचित्रमा समेटिएको छ । बृत्तचित्रमा हिमाल आरोहणको लागि प्रेम र विशेष गरी माउन्ट ब्लेनसहित फ्रान्समा उनको प्रारम्भिक पर्वतारोहण अनुभवहरू समावेश गरिएको छ ।
पासाङको अटल दृढ संकल्प र लचिलोपन फिल्म मार्फत देखाइएको छ । विशेष गरी सगरमाथा आरोहणको उनको प्रयासमा बारम्बार असफलताको सामना गर्नु परे पनि उनले अडिग रहेर सन् १९९३ मा नेपाल–भारत संयुक्त अभियानको नेतृत्व गर्दै चौथो प्रयास गर्ने निर्णय गरिन् । २२ अप्रिल १९३३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथाको शिखरमा उभिने आफ्नो सपना पूरा गरिन्, जुन नेपाली महिलाहरूको लागि एक ऐतिहासिक क्षण रह्यो । दुर्भाग्यवश तल झर्ने क्रममा आफ्नो ज्यान गुमाइन् । यद्यपी उनको शव सगरमाथाबाट सफलतापूर्वक निकालिएको थियो।
पासाङको जीवनमा लचिलोपन, दृढता र लैङ्गिक अवरोधहरू तोड्ने मार्मिक उदाहरण रहेका छन् । उनी नेपाली महिलाको क्षमता र शक्तिको प्रतीक बनेकी छिन् । साथै साहसको प्रतिक बनेकी छिन् । वृत्तचित्रले उनको अथक प्रयासको सारलाई समेट्छ भने धेरै चुनौती र अवरोधहरूको सामना गर्दा पनि समर्पणका साथ आफ्नो सपनाहरू पछ्याउनुको महत्त्वलाई जोड दिन्छ। बृत्तचित्रमा उनलाई चिन्नेहरू, प्रख्यात अल्पाइनिस्टहरू र पासाङका अन्तर्वार्ताहरू समेटिएको छ ।
पासाङ ल्हामु शेर्पाले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन्। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भएको थियो । सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन्। उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के ४ मा २०१७ साल मंसिरमा भएको थियो। पिता फूर्वा कितार शेर्पासग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकी थिइन्। दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकी हुन्। सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन् ।
पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ। सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो। उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्यो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ। उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ।
उनी सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन् । आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो। मृत्यु पश्चात् पासाङलाई सुप्रदिप्त मान्यवर नेपाल ताराको विभूषण मिल्यो। उनको तस्वीर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याइयो। पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो जासम्बा नामको चुचुरोलाई पासाङ ल्हामु चुली नामकरण पनि गरियो।