नेपालको सौम्य शक्ति के हो?

नेपालको सौम्य शक्ति के हो?


शक्ति भन्नाले कुनै व्यक्ति, समूह वा राष्ट्रले अर्को पक्षलाई आफ्नो इच्छा अनुसार प्रभावित गर्ने क्षमता हो। तर शक्ति भौतिक साधनहरूमा मात्र सीमित छैन, हुँदैन। प्रसिद्ध राजनीतिशास्त्री रोबर्ट डाहलका अनुसार शक्ति भनेको त्यो सामर्थ्य हो जहाँ ‘ए’ ले ‘बी’ लाई त्यस्तो कार्य गर्न लगाउन सक्छ, जुन ‘बी’ले सामान्य अवस्थामा गर्दैनथ्यो।

परराष्ट्र मामिलामा शक्तिको परिभाषा झन् जटिल छ। जस्तै एउटा प्रश्न गरौं। अमेरिकालाई बेलायतको आणविक क्षमतादेखि डर लाग्दैन तर, बेलायतभन्दा धेरै टाढा रहेको र तुलनात्मक रूपमा कमजोर उत्तरकोरियाको आणविक क्षमतासँग धेरै डर लाग्छ, किन ? के भौतिक शक्तिमा आधारित शक्तिको पुरानो परिभाषाले मात्रै यसको उत्तर दिन सकिन्छ ? सकिंदैन। यसलाई बुझ्न अन्तर्राष्ट्रिय सम्बन्धका प्रचलनमा रहेका सिद्धान्तहरू भित्र शक्तिको परिभाषालाई गहिरो गरी नियाल्नुपर्दछ।

दोस्रो विश्वयुद्धदेखि प्रचलनमा आएको यथार्थवाद अर्थात् रियालिजमले सैन्य शक्ति, त्यसमध्ये पनि स्थल सेनाको संख्या र सो देशको कुल जनसंख्यालाई शक्तिको प्रमुख आधार मान्छन्। अर्थतन्त्रलाई पनि सँगै विश्लेषण गर्दा मात्रै पूर्ण चित्र देखिन्छ भन्नेहरू पनि छन् तर उनीहरू अझै पनि अल्पसंख्यकमा गनिन्छन्।

मूलतः सैन्य शक्ति र अहिले आएर प्रविधिमा थप जोड दिएको देखिन्छ। जनसंख्या सधैं शक्तिको प्रमुख आधार रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्धभित्रको उदारवादी सिद्धान्तहरूले पनि भौतिक शक्तिलाई स्वीकार गरेको देखिन्छ। उनीहरूका अनुसार कुनै पनि देशको प्राथमिकता नाफा र घाटाका आधारमा निर्धारण हुन्छ र भौतिक फाइदा खासगरी आर्थिक फाइदा देशहरूको सम्बन्धमा निर्णायक हुन्छ। अन्तर्राष्ट्रिय सम्बन्धका आलोचनात्मक सिद्धान्तहरूले भने अन्तर्राष्ट्रिय संरचना र राष्ट्र वा राष्ट्रिय पात्रहरू बीचको निरन्तरको अन्तरक्रिया परराष्ट्र मामिलामा निर्णायक हुने हुँदा निरपेक्ष भौतिक शक्तिमा कत्ति पनि चासो दिएको देखिंदैन।

शक्तिको बारेमा बहस चलिरहँदा परराष्ट्र मामिलाका प्राध्यापक जोसेप नोईले शक्तिलाई वर्गीकरण गर्ने नयाँ परिभाषा प्रस्तुत गरे। उनका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध शक्तिलाई हार्ड र सफ्ट पावरमा बाँडेर हेर्नुपर्दछ। हार्ड पावर मूलत: सैन्य र आर्थिक क्षमता आधारित हुन्छ। अर्थात् माथि छलफल गरिएको भौतिक शक्तिलाई ‘हार्ड पावर’ मान्न सकिन्छ। शक्तिशाली देशहरूले यस्तो हार्ड पावरमा आधारित भएर सैन्य हस्तक्षेप, आर्थिक नाकाबन्दी वा रणनीतिक गठबन्धन मार्फत अर्को देशलाई प्रभाव पार्ने गरेका छन्।

सौम्य शक्तिका आधारमा नेपाल ऐतिहासिक रूपमा शक्ति राष्ट्र हो। मल्लकालदेखि शाहकालसम्म नेपालले धार्मिक सहिष्णुता, कलाको विकास र सांस्कृतिक विविधताको धरोहर प्रस्तुत गर्दै आएको छ। मल्लकालमा निर्माण गरिएका दरबार, मन्दिर, काष्ठकला र मूर्तिकलाले नेपालको सांस्कृतिक पहिचानलाई अझ गहिरो बनाएका छन्।

सफ्ट पावर अर्थात् सौम्य शक्ति भन्नाले कुनै देशले आफ्नो संस्कृति, मूल्य, विचारधारा र संस्थाहरूको माध्यमबाट आकर्षण र सहकार्यको माध्यमबाट अरूलाई प्रभावित गर्ने क्षमतालाई जनाउँछ। बल वा दबाबको सट्टा सहमति, आकर्षण र विश्वासको माध्यमबाट प्रभाव पार्न सक्ने क्षमतालाई सौम्य शक्ति भनिन्छ। उदाहरणका रूपमा, नेपालले गौतम बुद्ध र उहाँको जन्मस्थल लुम्बिनीलाई शान्ति र सहिष्णुताको प्रतीकका रूपमा प्रचार गरेर आफ्नो सौम्य शक्ति उपयोग गरेको छ।

त्यस्तै, भारतले योग, आयुर्वेद र बलिउड फिल्महरूलाई विश्वसामु प्रस्तुत गर्दै आफ्नो सांस्कृतिक प्रभाव विस्तार गरेको छ। यस्तै, संयुक्त राज्य अमेरिकाले हलिउड, पप संस्कृति र ब्रान्डहरूको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा आकर्षण सिर्जना गरेको छ। सौम्य शक्तिले मुख्यतया देशको छवि निर्माण गर्दै दीर्घकालीन सम्बन्ध सुधारमा सहयोग पुर्‍याउँछ।

आजको मितिमा नेपालका लागि सबैभन्दा महत्वपूर्ण शक्ति भनेको सौम्य शक्ति नै हो। हामीलाई प्रभाव पार्न खोज्ने देशहरूले पनि आफ्नो सौम्य शक्ति मार्फत प्रभाव पार्न खोजेका छन् भने हामीले पनि यही मार्फत राष्ट्रिय स्वार्थ हासिल गर्नु छ। यस्तो अवस्थामा नेपालको सौम्य शक्ति के हो भन्ने बहस अपरिहार्य छ।

सौम्य शक्तिका आधारमा नेपाल ऐतिहासिक रूपमा शक्ति राष्ट्र हो। मल्लकालदेखि शाहकालसम्म नेपालले धार्मिक सहिष्णुता, कलाको विकास र सांस्कृतिक विविधताको धरोहर प्रस्तुत गर्दै आएको छ। मल्लकालमा निर्माण गरिएका दरबार, मन्दिर, काष्ठकला र मूर्तिकलाले नेपालको सांस्कृतिक पहिचानलाई अझ गहिरो बनाएका छन्। उदाहरणका लागि, भक्तपुर दरबार स्क्वायरमा रहेको ५५ झ्याले दरबार, पाटनको कृष्ण मन्दिर र काष्ठकला झल्किने स्वयम्भूनाथ स्तूप नेपालका अमूल्य सांस्कृतिक सम्पदा हुन्।

यसैगरी, शाहकालको अवधिमा पशुपतिनाथ मन्दिरको संरक्षण, गोरखाको गोरखनाथ मन्दिरको महत्व र लुम्बिनीलाई बुद्धको जन्मस्थलका रूपमा प्रवर्धन गर्न गरिएका प्रयासले नेपालको धार्मिक सहिष्णुता र सांस्कृतिक शक्ति झल्काएको छ। नेपालका पर्व, जस्तै इन्द्र जात्रा र बिस्केट जात्रा यहाँको परम्परागत संस्कृति र सहिष्णुताको द्योतकका रूपमा रहेका छन्। यी ऐतिहासिक र सांस्कृतिक धरोहरहरूले नेपालको सौम्य शक्तिलाई मजबुत बनाएर अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचानलाई स्थापित गर्न मद्दत गरेका छन्।

आधुनिक युगमा हरेक देशले रणनीतिक रूपमा आफ्नो सौम्य शक्ति विकास गरेका छन्। अर्थात् कस्तो प्रकारको सौम्य शक्ति देशको राष्ट्रिय स्वार्थ पूरा गर्न समुत्पादक हुन्छ र कस्तो शक्ति प्रत्युत्पादक पनि हुन सक्दछ भन्नेमा विशेष ख्याल गर्दछन्। एउटा प्रश्न गरौं, के नर्वे र डेनमार्कका प्राथमिकता हाम्रा सौम्य शक्तिका आधार हुन सक्दछन्? कठिन छ। हामीले प्रष्टसँग हेक्का राख्नुपर्दछ हाम्रा उत्तर र दक्षिण छिमेकीले सुन्न नै नचाहने शब्दावलीलाई प्रयोग गरेर हाम्रो सौम्य शक्ति विकास गर्नुहुँदैन। त्यो पूर्ण रूपमा प्रत्युत्पादक हुन्छ।

फेरि केही उदाहरण हेरौं। जापानले आफ्नो सौम्य शक्तिलाई संस्कृति र प्रविधिमा केन्द्रित गरेको छ। जापानी एनिमे र मंगा, जस्तै नारुतो, ड्रागन बल र स्पिरिटेड अवेले जापानी संस्कृतिलाई विश्वभर पुर्‍याएका छन्। साथसाथै, जापानी भोजन, जस्तै सुशी, रमेन र समुराई परम्पराले जापानलाई सांस्कृतिक धरोहरका रूपमा प्रस्तुत गरेको छ। प्रविधिको क्षेत्रमा टोयोटा, सोनी र निन्टेन्डो जस्ता विश्वप्रसिद्ध ब्रान्डहरूले जापानलाई नवप्रवर्तनको अग्रणी राष्ट्रका रूपमा उभ्याएका छन्।

फ्रान्सले आफ्नो सौम्य शक्तिलाई कला, फेशन र भाषामा केन्द्रित गरेको छ। पेरिसलाई विश्वको फेशन राजधानी मानिन्छ र फ्रेन्च खाना, वाइन र कला संग्रहालय, जस्तै लूव्र म्युजियमले फ्रान्सलाई सांस्कृतिक उत्कृष्टताको प्रतीक बनाएको छ। साथै, फ्रान्सको युनेस्को सूचीमा सूचीकृत स्थानहरूले यसको सांस्कृतिक प्रभावलाई थप सुदृढ बनाएका छन्।

कतारले आफ्नो सौम्य शक्तिलाई खेलकुद र कूटनीतिमा आधारित बनाएको छ। कतारले २०२२ को फिफा विश्वकप आयोजना गरेर आफ्नो सौम्य शक्तिलाई अत्यन्त प्रभावकारी बनायो। यो विश्वकपले कतारलाई विश्वव्यापी ध्यानको केन्द्रमा ल्याउन मात्र होइन, यसको सांस्कृतिक सम्पदा र आर्थिक क्षमता प्रदर्शन गर्ने अवसर पनि बनायो। साथै, अल जजिरा नेटवर्कले कूटनीति र सूचना प्रभावमा ठूलो भूमिका खेलेको छ। यो मिडिया प्लेटफर्मले विश्वभरका मुद्दाहरूलाई उजागर गर्दै कतारको कूटनीतिक छविलाई मजबुत बनाएको छ।

त्यसो हो भने नेपालले आफ्ना प्रचुर सम्भावनामध्ये के, किन र कसरी सौम्य शक्तिको रूपमा उपयोग गर्नुपर्दछ चर्चा गरौं। सबैभन्दा पहिला नेपालले आफ्नो विकासोन्मुख राज्यको ब्रान्डिङमा विशेष ध्यान दिन आवश्यक छ। अर्थात्, हामीले विश्वको आकर्षणलाई तान्न पिछडिएका मुलुकहरूमध्ये नेपालले सबैभन्दा राम्रो आर्थिक, सामाजिक एवं राजनीतिक विकास गर्दैछ भन्ने सन्देश दिनेमा हामी सबैले ध्यान दिनुपर्दछ।

कुनै पनि राष्ट्रको पहिचानले आर्थिक विकास, कूटनीतिक सम्बन्ध र सौम्य शक्ति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालको भौगोलिक विशेषता, सांस्कृतिक धरोहर र जनताको दृढताले विकासोन्मुख राज्यको रूपमा आफ्ना अवसरहरूलाई पूर्ण रूपमा उपयोग गर्न सक्षम बनाएको छ। ठोस नीति निर्माण, प्रभावकारी शासन र समावेशी विकासलाई प्राथमिकता दिंदै, नेपालले वैदेशिक लगानी आकर्षित गर्न, व्यापार र पर्यटनलाई प्रवर्धन गर्न र समग्र आर्थिक वृद्धिमा उल्लेखनीय प्रगति गर्न सक्छ। विकासोन्मुख राज्यको रूपमा ब्रान्डिङले नेपालको छवि मात्र सुधार्ने होइन, अन्तर्राष्ट्रिय मञ्चमा देशलाई विश्वसनीय साझेदारका रूपमा पनि प्रस्तुत गर्न मद्दत गर्दछ।

दोस्रो, नेपालको युवा जनसंख्या र यसको सक्रिय परिचालन देशको सबभन्दा ठूलो शक्ति हो। युवाहरूको सिर्जनशीलता, उद्यमशीलता र नवीन सोचलाई प्रोत्साहन गर्न नीतिगत तहबाट ठोस कदम चाल्नु आवश्यक छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा सम्मेलनहरूको आयोजना गरेर युवा शक्ति र तिनको सम्भावनालाई उपयोग गर्न सकिन्छ। यस्ता सम्मेलनहरूले युवाहरूलाई केवल सशक्त बनाउने मात्र होइन, उनीहरूको अन्तर्राष्ट्रिय अनुभव र नेटवर्कलाई पनि समृद्ध बनाउँछ। शिक्षा, प्रविधि र सामाजिक क्षेत्रमा युवाहरूको संलग्नता बढाएर नेपालले आर्थिक प्रगति र सामाजिक परिवर्तनलाई गति दिन सक्छ।

तेस्रो, नेपाललाई साझा संस्कृति एवं संगमको थलोका रूपमा प्रस्तुत गर्न सकिन्छ। नेपाल सांस्कृतिक विविधता र धार्मिक सहिष्णुताले सम्पन्न देश हो। यहाँका परम्परागत कला, संगीत, साहित्य र धार्मिक स्थानहरूले संसारभरका मानिसहरूलाई आकर्षित गर्ने ठूलो सम्भावना राख्छ। लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथ र हिमालय क्षेत्र जस्ता स्थलहरूले नेपाललाई सांस्कृतिक सम्पदाको धनी देश बनाएका छन्। सांस्कृतिक महोत्सव, प्रदर्शनी र अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गरेर नेपाललाई केवल धार्मिक गन्तव्य मात्र होइन, सांस्कृतिक संगमको प्रतीकका रूपमा चिनाउन सकिन्छ।

चौथो, कोरोनापछिको ‘हिलिङ टुरिज्म’ योजना नेपालका लागि ठूलो अवसर हो। यो बुद्ध भूमि हो, तपोभूमि हो, ऋषिमुनिहरूको भूमि हो। मानिसहरू महामारीपछि शारीरिक र मानसिक शान्तिको खोजीमा छन्। नेपालको हिमालय क्षेत्र, योग र ध्यान केन्द्र, प्राकृतिक उपचार पद्धतिहरू र शान्त वातावरणले नेपाललाई एक आदर्श ‘हिलिङ गन्तव्य’ बनाउन सक्छ। ‘हिलिङ टुरिज्म’का लागि विशेष प्याकेजहरू तयार गर्दै, स्वास्थ्य पर्यटनलाई प्रोत्साहन गर्न निजी क्षेत्र र सरकार बीच सहकार्य आवश्यक छ। यसले कोरोनाले प्रभावित पर्यटन क्षेत्रमा पुनरुत्थान गर्ने मात्र होइन, नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्नेछ।

हामीसँग यस्ता धेरै सम्भावना छन्। यो त्यसको प्राथमिकता निर्धारण र प्याकेज निर्माण गर्ने समय। प्रधानमन्त्रीको आसन्न चीन भ्रमण नेपालको सौम्य शक्ति विकासको कोसेढुङ्गा बन्न सक्छ भन्ने विश्वास व्यक्त गर्दै यो क्षेत्रमा प्राज्ञिक जगत र नीतिनिर्माताहरूको थप सक्रिय चासोको पनि ध्यानाकर्षण गराउन चाहन्छु।

पन्त त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभागबाट व्यक्तिगत सम्बन्धमा आधारित नेपालको सौम्य शक्ति विषयमा विद्यावारिधि गर्दैछिन्।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School