त्यो समय चरिकोट साँच्चै गुल्जार थियो । कुरा २०७० सालको हो, अर्थात विनाशकारी भूकम्प आउनु दुई वर्षअघि । चरिकोटको माहोल साँच्चै जीवन्त थियो, होटलहरू खचाखच भरिएका हुन्थे र सडकमा मानिसहरूको चहलपहलले सवारी साधनहरूलाई चल्नसमेत कठिन बनाउँथ्यो । चाहे सरकारी कामकाज होस् वा व्यापारिक गतिविधि, दोलखामा चरिकोट सबैको पहिलो रोजाइ थियो, यसको कुनै विकल्प नै थिएन ।
यो शहर केवल व्यापार र प्रशासनको केन्द्र मात्र थिएन, यसले आफ्नो वरपरको प्राकृतिक सौन्दर्य र साँस्कृतिक धरोहरले पनि पर्यटकहरूको मन आकर्षित गर्थ्यो। उत्तरतिर कालिञ्चोकको डाँडाहरुले मानिसहरूलाई अंकमालको निम्तो दिइरहन्थ्यो, दक्षिणतिर जिरीको हरियालीले मनमोहक वातावरण सिर्जना गथ्र्याे, पूर्वमा भीमेश्वरको बैभव र गौरीशंकर हिमालको विशालता देखिन्थ्यो भने पश्चिमतिर शैलुङ्गको पहाडी दृश्यले आँखा लोभ्याउँथ्यो । चरिकोट साँच्चै पर्यटनको हब महसुस हुन्थ्यो ।
त्यसो त अहिले पनि यी प्राकृतिक वातावरण उस्तै छन् । छैनन् त सिर्फ मानिसहरुका चहलपहल !
त्यो समयको चरिकोटको चहलपहल र व्यापारिक महत्वले यस क्षेत्रको सामथ्र्यलाई उजागर गरिरहेको थियो । पर्यटकीय गतिविधिहरू बाक्लै चलिरहे पनि त्यो समय पर्यटन र होटलसँग सम्बन्धित औपचारिक संस्था भने थिएन ।
यही खाली पाटोलाई ध्यानमा राख्दै, सुन्दर कार्कीको संयोजकत्वमा होटल एसोसिएसन नेपाल (हान) गठन भयो, जसले चरिकोटमा पर्यटन र होटल व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यसाथ आफ्ना गतिविधिहरू सञ्चालन गर्न थाल्यो ।
भीमेश्वर नगरपालिकासँग सम्बन्धित र स्थानीय निवासी भएकाले म पनि ती गतिविधिहरूको पृष्ठभूमिमा प्रत्यक्ष संलग्न थिएँ । हान गठनले स्थानीय पर्यटन क्षेत्रलाई अझ व्यवस्थित र सुदृढ बनाउन ठुलो भूमिका खेल्यो ।
करिब चार वर्षको समयावधिमा खुर्कोटस्थित सुनकोसी पुल निर्माण सम्पन्न भयो । यो पूल केवल भौतिक संरचना मात्र थिएन । यो तराई र पहाडबीचको गहिरो सम्बन्धको प्रतीक थियो । यो सांस्कृतिक अन्तरघुलनको सेतु थियो, जसले फरक भूभाग र संस्कृतिहरूलाई एकआपसमा जोड्यो ।
साथै, यसले आञ्चलिक विस्तारको महत्वपूर्ण यात्रा आरम्भ गर्यो । उत्तर–दक्षिण व्यापारिक मार्गका लागि पनि यो पूल एक महत्वपूर्ण कडी बन्यो । मैले त्यस समयमा यस आञ्चलिक विस्तार, साँस्कृतिक अन्तरघुलन र उत्तर–दक्षिण व्यापारिक मार्गको प्रारम्भबारे विभिन्न पत्रिकामा लेख लेखेको थिएँ ।
यही २०८१ साल असोज महिनाको १० गतेदेखि लगातार परेको अविरल वर्षाले १२ गते दिउँसो खुर्कोटस्थित सुनकोसी पूलको देब्रे स्पान बगायो ।
यस दिनको बाढी र पहिरोले काठमाडौँ उपत्यका लगायत काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ्ग र सिन्धुलीलाई विशेष रूपमा प्रभावित बनायो । सरकारले यी जिल्लाहरूलाई अति प्रभावित क्षेत्रको रूपमा घोषणा ग¥यो । हालसम्म बाढी र पहिरोका कारण २०० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् भने कैयौं अझै बेपत्ता छन् । साथै, १७ अर्बभन्दा बढीको भौतिक संरचना र अन्य सम्पत्तिको क्षति भएको छ ।
त्यसो त भीमेश्वर मन्दिरको शीलामा केही महिनाअघि बायाँ भागबाट पसिना आएको थियो, जसले जनमानसमा केही न केही अनिष्ट हुने संकेतको रूपमा चर्चा पाएको थियो । संयोग भनौं वा अरू केही, वास्तवमै जनतामा ठूलो विपद् आइलाग्यो ।
दशैंजस्तो उल्लासमय चाडबाडको समयमा मानिसहरूले आफ्ना प्रियजनहरू गुमाए र कैयौंको सम्पत्ति नष्ट भयो । यो घटना जनजीवनमा गहिरो चोट पुर्याउने गरी आयो र यसले भविष्यप्रतिको भय र अनिश्चितताको वातावरण पनि सिर्जना गर्यो।
अँ , म भन्दै थिएँ, हानले आफ्ना गतिविधिहरु सक्रियताका साथ संचालन गर्दै थियो । यो बीचमा खुर्कोटस्थित सुनकोसी पूल पनि निर्माण भइसकेको थियो । त्यस सन्दर्भमा, अब साँस्कृतिक, धार्मिक एवं पर्यटकीय रुपले तराईलाई पहाडसँग जोड्न आवश्यक छ भन्ने धारणा बलियो बन्दै गयो ।
विशेष गरी, तराई र भारतका पर्यटकहरूलाई दोलखा भित्राउनु पर्छ भन्ने मान्यता प्रबल भयो । यति मात्र नभएर यसले दोलखा र भीमेश्वरको दीर्घकालीन पर्यटनको ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरियो ।
यो सोचलाई मूर्त रुप दिन होटल संघ दोलखाले मंसीरमा दोलखा महोत्सव २०७१ आयोजना गर्ने अगुवाई लियो । यसै योजनाका आधारमा, तराईलाई निम्तो गर्न जाने योजना बनाइयो, जसले गर्दा पर्यटन प्रवर्धनको नयाँ सम्भावना उजागर हुने अपेक्षा गरियो ।
यस योजनालाई थप व्यवस्थित र दीर्घकालीन रूपमा अघि बढाउन बिर्ख छेत्री ‘क्रान्ति’लाई जिम्मा दिइयो । यसैका आधारमा, तराई निम्तो भ्रमणले बृहत्तर रूप पायो । यो भ्रमण केवल हानसँग सीमित रहनुको साटो, जिल्लाका अन्य कार्यक्रमहरूसँग पनि समाहित गरियो । त्यस समय प्रमुख जिल्ला अधिकारीका रूपमा प्रल्हाद पोखरेल हुनुहुन्थ्यो ।
उहाँले भन्नुभएको थियो, ‘अबको प्रशासन जनतासँग दूरीमा हैन, बरु सँगसँगै हिड्ने संस्था हुनुपर्छ ।‘ उहाँ व्यक्तिगत रूपमा कवि हृदयका धनी हुनुहुन्छ र दोलखालाई कैयौं पटक कवितामा उतार्नुभएको छ, साथै एकल बाचन समेत गर्नुभएको छ । जिल्लामा हुने हरेक साहित्यिक कार्यक्रममा उहाँको सक्रिय सहभागिता रहन्थ्यो । त्यो बेला दोलखाको साहित्यिक गतिविधिले उच्चता लिन उहाँको विशेष भूमिका थियो ।
मंसीरमा आयोजना हुने दोलखा महोत्सवमा निम्तो दिन जनकपुर जाने योजना २०७१ भदौको अन्तिम साता तय भयो । निम्तो कार्यक्रममा समन्वय हानको भए पनि नेतृत्व भने जिल्ला प्रशासन कार्यालयले गर्ने भयो ।
साथ दिने भए, जिविस दोलखा र भीमेश्वर नगरपालिकाले । यो त भयो सरकारी स्तरको कुरा, अझ थप खुसीको कुरा सबै प्रमुख राजनैतिक दलहरुले यस भ्रमणमा सहभागी हुने भए । पत्रकारहरु त यस कार्यक्रमका अभिन्न अंग छँदै थिए । साहित्यकारहरुको सहभागिताले सुनमा सुगन्ध थपेको थियो ।
नेपाली कांग्रेस दोलखाबाट तत्कालिन पार्टी सभापति तारा बहादुर कोइराला, नेकपा ९एमाले० बाट तत्कालिन पार्टी अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेकपा माओबादीका तत्कालिन पार्टी इन्चार्ज विशाल खड्का र राप्रपाबाट नर बहादुर पाख्रिन समाबेश थिए भने पत्रकारबाट पत्रकार महासंघ दोलखाका तत्कालिन सभापति राजेन्द्र मानन्धर, तत्कालिन सचिव जीवन लामा, हाम्रो रेडियोबाट लक्ष्मण खड्का लगायतका थिए ।
त्यसैगरी जिविस दोलखाबाट जगदीश अर्याल, भीमेश्वर नगरपालिकाबाट निमित्त कार्यकारी अधिकृत ई. सुरेश राउत (पंक्तिकार), योजना मस्यौदाकार बिर्ख छेत्री, हानका संयोजक सुन्दर कार्की लगायतका सदस्यहरु उक्त निम्तो भ्रमणमा सहभागी भयौं ।
छिमेकी जिल्ला रामेछापको हानले हामीलाई भव्य स्वागत गर्यो । कमलामाई नगरपालिका पनि स्वागतमा पछि परेन । स्वागतको क्रममा छोटो–छोटो भनाइहरू राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाएका थियौं ।
यसै क्रममा हामीले खुर्कोट र बर्दिबासमा दोलखासम्म पुग्ने नक्सासहितको बोर्ड राख्ने काम पनि गर्यौं । हामी हाम्रो आफ्नै अञ्चल जनकपुरलाई अञ्चलभित्रैबाट पहिलो पटक भ्रमण गर्दै थियौं ।
३० भदौ २०७१ को दिन । जब हामी जनकपुरको रामधनुष गेटमा पुग्यौं, प्रमुख जिल्ला अधिकारी र बिर्खजी ओर्लनुभयो । प्रजिअज्यूले मलाई जान आग्रह गर्नुभयो, जबकि अरु साथीहरू सिधै होटल जाने कुरा गरिरहेका थिए ।
वास्तवमा त्यहाँ नजिकैको एक होटलमा साहित्यिक कार्यक्रम भइरहेको थियो, जसमा प्रल्हाद सर र बिर्खजीलाई सम्मान गर्न निम्तो रहेछ । मैले सोचें कि अरु केही नभए पनि फोटो खिच्ने मेरो भूमिका हुने रहेछ !
होटलको लबिमा दुईजना माला लिएर बस्नुभएको रहेछ । माला चाँही प्रल्हाद सरलाई र मलाई लगाइदिए । अब मलाईभन्दा बढी अप्ठ्यारो बिर्खजीलाई पर्यो । मैले तुरुन्तै भनें, ‘खासमा माला लगाइदिनुपर्ने मान्छे त उहाँ नै हुनुहुन्छ ।’
साथीहरूले दौडेर अर्को माला ल्याएर हत्तपत्त बिर्खजीलाई लगाइदिए । म र बिर्खजी बीचमा मुखामुख गर्यौं र मैले उहाँलाई अगाडि हिँड्न आग्रह गरे – सोचें, कहीं फेरि मलाई नै उहाँ ठानेर अर्को माला थपिदेलान् !
एक तलामाथिको कार्यक्रममा डा. राजेन्द्र विमल सरबाहेक मैले चिन्ने कुनै अनुहार थिएनन् । तर डा. विमललाई चिन्नु भनेको एक हिसाबले सिंगो जनकपुरलाई चिन्नु हो । खासमा यही वर्षको ३१ जेठमा चरिकोटमा आयोजना भएको शताब्दीयौं (२०१ औं वर्ष) भानु जयन्तीको अवसरमा डा. विमललाई कला साहित्य प्रतिष्ठानको अगुवाईमा भीमेश्वरमा बोलाएको थियो । माथि नै भनियो, कार्यक्रमको समन्वयमा पनि प्रजिअ प्रल्हाद पोखरेल सरको महत्वपूर्ण भूमिका रहेको थियो ।
साथमा, बिर्खजीको अगुवाईमा कला साहित्य प्रतिष्ठानमार्फत यस अघिदेखि राष्ट्रिय, क्षेत्रीय, जिल्ला र स्थानीयस्तरका कैयौं साहित्यिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका थिए । जसमा विभिन्न स्कूलहरूमा पनि कार्यक्रमहरू आयोजना गरिएको थियो । यी सबै घटनाहरूले दोलखाको साँंस्कृतिक जीवनलाई अझ समृद्ध बनाएका थिए ।
अँ, म भन्दै थिएँ, डा. विमल सरको भीमेश्वर भ्रमणको बारेमा । नगरपालिकासँग सम्बन्धित भएको हिसाबले मैले उहाँसँगै रहने र संवाद गर्ने मौका पाएको थिएँ । भीमेश्वर भ्रमणका क्रममा सो भानु जयन्तीको अवसरमा सिमपानी क्षेत्रको सरस्वतीडाँडामा भानु बाटिकाको शिलान्यास स्वयं डा. विमल र प्रजिअ प्रल्हाद पोखरेल सरले संयुक्त रूपमा गर्नुभएको थियो ।
यता, हाम्रो आगमनसँगै जनकपुरको साहित्यिक सभा औपचारिक रूपमा सुरु भयो । संबोधनको क्रममा मलाई थाहा भयो कि पहाडका र तराईका मानिसहरूमा कसरी साँस्कृतिक अन्तरघुलन भएको रहेछ ! मैले अनुभूत गरें; पहाड र तराईका मानिसहरूबीच देखिएको अन्तरलाई सांस्कृतिक आदानप्रदानले कति सहजै मेटाउन सक्छ भन्ने ! यहाँका कविहरूले पहाडी भाषा र सांस्कृतिलाई सम्मान गरिरहँदा पहाडबाट आएका हामीले मैथिली भाषालाई आत्मसात् गरिराखेका थियौं ।
यो कुनै नीतिगत छलफल थिएन, न त कुनै राजनीतिक सभा, तर यसले साँच्चै नै पहाड र तराईबीचको आत्मीयता थप प्रगाढ बनाउन मद्दत गरिरहेको थियो । त्यो कार्यक्रमले मलाई नयाँ अनुभूति गरायो, हामी नेपालीहरूको सांस्कृतिक विविधता र भावनात्मक एकता !
कसैले कविता, कसैले मुक्तक र कसैले गीतलाई मैथिली र नेपाली भाषामा बाचन गरे, गाए । यस्तो माहोल पाएर म स्वयं पुलकित भएँ। यसरी पुलकित हुनुको थप कारण पनि छ ।
मलाई लाग्थ्यो, जनआन्दोलन ०६२÷६३ पछिको तराई आन्दोलन, अझ पछिल्लो पटक रुचाइएको नाम मधेश आन्दोलनले देशमा भौगोलिक र भाषिक खाडललाई बढाउँदै लग्यो । यसले पहाड र मधेशको दूरीलाई अझ टाढा बनाउँदै लग्यो । त्यो समयमा यसलाई थप मलजल गर्नेमध्येका एक थिए, डा. सिके राउत ।
डा. राउत पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा पढ्दा डिप्लोमामा एक वर्ष पछिको ब्याजका र स्नात्तकका सहपाठी थिए तर हाम्रो फ्याकल्टी भने फरक थियो । म सिभिल अध्ययन गर्दै थिएँ र उनी इलेक्ट्रोनिक्स ।
हामी दुवै होस्टेलमा बस्ने भएकाले खाना, खाजा र फुर्सदको समयमा पढाइ र समसामयिक कुराकानी गथ्र्याैं तर राजनीतिक विषयमा भने खासै कुरा हुँदैनथ्यो । उनले पिएचडी सकेर नासाको जागिर छोडी नेपाल फर्के । फर्केपछि उनको ‘देशका लागि सँगै केही गर्नुपछ’ भन्ने मेल पाएको थिएँ, म अत्यन्त खुसी थिएँ । तर धेरै समयपछि सिकेजीलाई यस अवस्थामा पाउँदा म कता–कता कन्फ्युज्ड भएँ ।
उनी त अझ एक कदम अगाडि गएर स्वतन्त्र मधेशका पक्षधर थिए र सोही अनुसारका गतिविधिहरु सञ्चालन गरिरहेका थिए । यसले गर्दा हाम्रो मनमा तराइ÷मधेशलाई हेर्ने दृष्टिकोणमा केही फरकपन महसुस हुन्थ्यो ।
तर, त्यस्तो हैन रहेछ । राजनीतिक रूपमा मात्र पहाड र तराइ÷मधेशमा खाडल÷दूरी जबरजस्त खडा गरिएको रहेछ । नागरिकस्तरमा भने यो हिसाबको आफ्नोपन रहेको थियो, जसरी यस कार्यक्रममा अभिव्यक्त भएका थिए । कार्यक्रममा सहभागीहरूको कविता, मुक्तक, गीत आदिले हामीलाई यसरी बाँधेका थिए कि म सोच्न थालेँ कि पहाड र तराइ÷मधेशलाई दीर्घकालसम्म कसरी जोड्न सकिन्छ होला !
मेरो मनमा त्यसको हल आयो। अब यसो गर्दा पहाड र तराइ÷मदेशका नागरिकबीच सद्भाव र साँस्कृतिक अन्तरघुलन हुनेछ । मैले चिटमा लेखेर प्रल्हाद सरलाई बाचन गर्न आग्रह गरें । केही समयपछि उहाँले सबैका अगाडि, ‘भीमेश्वर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत एवं इन्जिनियर सुरेश राउतजीको एउटा प्रस्ताव छ रे ! म उहाँलाई बाचनका लागि आग्रह गर्दछु ।’ भनिदिनुभयो ।
साहित्यिक कार्यक्रममा इन्जिनियरलाई बोल्नुपर्ने र फेरि त्यसमाथि सद्भाव र साँस्कृतिक अन्तरघुलनको दीर्घकालिन प्रस्ताव बाचन गर्न पाउनु भनेको विशेष अवसर थियो । मैले आफूलाई साहसिक र जिम्मेवार महसुस गर्दै चिट लिई अघि बढें। मेरा शब्दहरूले वातावरणमा उत्साह थप्नुपर्छ भन्ने सोचें ।
सबैको ध्यान केन्द्रित हुँदै थियो र उठेर सबैलाई सम्बोधन गरेपछि खुर्कोटस्थित सुनकोसी पूललाई उदाहरणको रुपमा लिएर भनें, ‘मैले यो कार्यक्रमलाई पहाड र तराइ÷मधेश जोड्ने सुनकोसी पूलको रुपमा लिएको छु । पूल – जोड हो, सेतु हो, सम्बन्ध हो, अनि हो विस्तार । मैले अहिले पूलको लम्बाई अनि मोटाई र यसको प्राविधिक स्पेसिफिकेसन भन्न गैरहेको छैन अपितु त्यो ‘पुल’ कुन हुनसक्छ जसले हामीलाई जोडोस्, यसका माध्यमबाट साँस्कृतिक अन्तरघुलन र सद्भाव दीर्घकालिन रुपमा आवतजावत सम्भव होस् !
हो, यसको शुरुवात भीमेश्वर नगरपालिकाले गर्न चाहन्छ र यसका लागि तपाईहरुले हामीलाई विद्यापति दिनुहोस् ताकि हामी डा. विमल सरले शिलान्यास गर्नुभएको भानु बाटिकामा स्थापना गर्न सकौं ताकी यसबाट पहाड र तराइ÷मदेशका नागरिकबीच सद्भाव र साँस्कृतिक अन्तरघुलन शुरुवात होस् । साथै, यस्तै कार्यक्रमहरु तहाँ गर्न सकौं ।’
यो सुनेर हल तालीको गडगडाहटले गुञ्जयमान भयो । डा. विमल भावुक भएर निकैबेरसम्म ताली पिटिरहनुभयो । म खुसीले भित्रबाटै पुलकित भएँ अनि अब त्यसपछिको जिम्मेवारीबोधले गम्भीर पनि । अब भानु बाटिका भानु–विद्यापति बाटिका हुने भयो ।
आजको घटस्थापना, यी शुभ घडीमा, म ती अमूल्य क्षणहरूलाई सम्झिरहेको छु । हेर्दाहेर्दै दश वर्षको दूरी पार भइसकेको छ । यसबीचमा केही महत्वपूर्ण पिल्लरहरु नउठाइएका भने होइनन् ! यो बीचमा साँस्कृतिक पहिचानलाई संस्थागत गर्न भीमेश्वरले सँस्कृति एन बनाएको छ ।
यस अन्तर्गत भानु–विद्यापति साहित्यक प्रतिष्ठान गठन भएको छ र यसले विभिन्न साँस्कृतिक गतिविधिहरु गरिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका र भीमेश्वर नगरपालिका बीच भगिनी सम्बन्ध स्थापित भएको छ । तर थप साँस्कृतिक आदानप्रदानका गति भने अपेक्षाकृत रुपमा सुस्त महसुस भइरहेको छ । अब हाम्रा पाइलाहरुको फड्को लम्बिनुपर्छ, गति बढ्नुपर्छ र यति मिल्नुपर्छ ।
भानुभक्त र विद्यापतिको साँस्कृतिक र भाषिक ज्ञानलाई अगाडि राख्दै, गौरीशंकरको उचाइ र मिथिलाको समृद्ध सभ्यतालाई हाम्रो शताब्दीको मञ्चमा उजागर गर्नुछ । आफ्नै पहिचानको गौरवका साथ संसारलाई प्रेरित गर्नुपर्छ । त्यो मञ्च हाम्रो ऐतिहासिक, साँस्कृतिक र बौद्धिक धरोहरको अभिव्यक्तिको रंगभूमि बन्नुपर्छ, जहाँ हाम्रा पाइला अनन्त उन्नतितर्फ लम्किउन् !