कोरोना भाइरस (कोभिड-१९) रोग भन्दा अगाडि पनि त्यस्ता धेरै रुघा–खोकीहरू थिए। सन् १९८१ को स्पेन भाइरस, १९५७ को एसिया भाइरस, सन् १९६८ मा हङकङ भाइरस, सन् २००३ र २००९ को सार्स भाइरस, सन् २०१२ को मेर्स उदाहरण हुन्। त्यस्ता भाइरससँग जुध्न प्रयोग गरिएको औषधि वा भ्याक्सिन कोरोना भाइरसको उपचारमा प्रत्यक्ष रूपमा काम नलागे पनि त्यतिबेलाको अनुभव पक्कै पनि कोरोनाको उपचार र भ्याक्सिन निर्माणमा धेरै नै उपयोगी भयो।
अन्य देशको विकासको मोडेल पनि त्यस्तै हो। उनीहरूको तत्कालीन सन्दर्भहरू र हाम्रो अहिलेको अवस्था फरक हुने हुँदा कुनै पनि नमूना ठ्याक्कै हामीलाई नमिल्न सक्छ। तर सारमा गएर हेर्यो भने विकसित हुन ढिलाइ हुनुका धेरै मिल्दाजुल्दा कारण पत्ता लगाउन सकिन्छ र सफल भएका सबै अन्तर्राष्ट्रिय अनुभवहरू हामीलाई काम लाग्छन्। तसर्थ हाम्रो वर्तमानसँग मिल्ने उदाहरण खोजेर, कसरी हामीसँग मिल्दाजुल्दा समस्यालाई उनीहरूले निराकरण गरेका रहेछन् भन्ने विषयमा चिन्तन आवश्यक हुन्छ।
जसरी एउटा वैज्ञानिकले नयाँ ज्ञान सिर्जना गर्दा त्योभन्दा अगाडिका सम्बन्धित अनुसन्धान र नतिजालाई पुनरावलोकन गर्दछ हामीले पनि विकास नीति र कार्यक्रम बनाउँदा सम्बन्धित क्षेत्रमा हाम्रो आफ्नै र संसारको अनुभवलाई तुलना गर्नुपर्दछ। यसले नीति र कार्यक्रमको लागत घटाउने मात्रै होइन त्यसको सफलताका सम्भावनालाई पनि वृद्धि गर्दछ।
दक्षिण कोरियाको ‘नयाँ गाउँ अभियान’ हामीलाई त्यस्तै एउटा उदाहरण हुन् सक्दछ। दक्षिण कोरियाली गाउँहरूको आत्मनिर्भरता मात्रै होइन, कोरियाली उद्योगको सफलता र सिङ्गो कोरियाको अर्थ–सामाजिक विकासको सफलताको मेरुदण्ड हो दक्षिण कोरियाको नयाँ गाउँ अभियान। तत्कालीन राष्ट्रपति पार्क जुंग हीले ‘गर्न सकिन्छ’, ‘हामी पनि सम्पन्न हुन सक्दछौं’ भन्ने नारा यही अभियानबाट स्थापित गरे।
कोरियालीहरूका लागि त्यस पश्चात् असम्भव भन्ने लगभग केही रहेन। दक्षिण कोरिया आज संसारको दशौं ठूलो अर्थतन्त्र बनिसकेको छ। त्यस अर्थमा यो आत्मविश्वासको अभियान थियो। राज्य र नागरिकलाई जोड्ने, एक बनाउने अभियान थियो। त्यसैले नेतृत्व उत्पादन गर्यो। त्यसैले राष्ट्रियतालाई सबल बनायो। हो, अहिलेको नेपालले पनि त्यस्तै एउटा बृहत् राष्ट्रिय अभियान खोजिरहेको छ।
कुन सन्दर्भमा?
दक्षिण कोरियाको नयाँ गाउँ अभियान पछाडि चार पृथक् पृष्ठभूमि रहेका छन्। पहिलो गरिबी नै हो। सन् १९४५ मा स्वतन्त्र भएको कोरिया, कोरियाली युद्ध हुँदै उत्तर र दक्षिण कोरियामा विभाजित भयो। युद्धको चपेटा र आन्तरिक राजनीतिक किचलोले आर्थिक विकासले गति लिन सकेन र सन् १९७० मा पनि दक्षिण कोरियालीहरूको प्रति व्यक्ति आय २८० डलर भन्दा कम थियो।
दोस्रो, गरिबीका कारण युवाहरू गाउँमा बस्ने अवस्था नै थिएन। युवाहरू विना योजना शहर पस्दै थिए। गाउँमा बसोबास गर्ने र शहरमा बसोबास गर्ने नागरिकहरू बीचको आर्थिक असमानताको खाडल झन्-झन् बढ्दै थियो। तेस्रो, नागरिक अभियान अपरिहार्य रहेको नेतृत्वको ठहर र त्यसको अनवरत प्रयत्न।
सन् १९६२ मा सैनिक शासनबाट सत्तामा आएका राष्ट्रपति पार्कले नयाँ गाउँ अभियानको औपचारिक घोषणा गर्नु पूर्व पनि दुई पटक राष्ट्रियस्तरका नागरिक परिचालन अभियान घोषणा गरेका थिए तर त्यसबाट अपेक्षित परिणाम निकाल्न सकेका थिएनन्।
चौथो, राष्ट्रपतिले यो सफल अभियान जनताबाट सिकेका थिए। सन् १९६९ मा सिंगो कोरिया बाढीबाट आक्रान्त थियो। अगस्ट महिना थियो। दक्षिण भूभागको बाढीको अवस्थाको निरीक्षण गरेर कोरियाली राष्ट्रपति पार्क रेलमा राजधानी फर्कंदै थिए। तर रेल योजना नभएको स्थानमा रोकियो। त्यो पनि राष्ट्रपतिको निर्देशनमा। अन्य गाउँमा जस्तै डुबान थियो। तर गाउँका सबै मानिसहरू आएर पानी कटाउने, जमिन मिलाउने काम गर्दै थिए। एकअर्कालाई सहयोग गर्दै थिए।
बाहिरको सहयोग वा निर्देशन विना नै एकअर्कालाई सहयोग गरेको देखेर राष्ट्रपति भावुक भए। राष्ट्रपतिसँग त्योभन्दा आठ वर्ष अगाडि नै त्यस्तै नागरिक अभियान गर्न खोज्दा असफल भएको तितो अनुभव थियो। त्यस पश्चात् उनले आफ्नो मन बदले। उनले बुझे, नागरिकलाई सहभागी होऊ भनेर मात्रै सहभागी हुँदैनन्। सक्रिय होऊ भनेर मात्रै सक्रिय हुँदैनन्। सहभागी र सक्रिय हुँदाका फाइदाहरूलाई उनीहरूले बुझ्ने गरी बताउन, सिकाउन र सफल उदाहरण मार्फत देखाउन सक्नुपर्दछ।
सबै गाउँलाई एकै व्यवहार गर्ने होइन, जो सक्रिय छन् उनीहरूलाई पहिला सहयोग गर्ने र अरूलाई पनि सक्रिय हुँदा मात्र सहयोग प्राप्त गर्न सकिन्छ भनेर अभिप्रेरित गर्नुपर्दछ। केही सफल उदाहरणहरू निर्माण गर्न सकियो भने यसले अरू धेरै नागरिक र समाजमा परिवर्तन ल्याउँछ। र त्यस्ता अभियानहरू जनताको आय-आर्जनसँग प्रत्क्षय रूपमा जोडिएको हुनुपर्दछ। यसरी सुरु भयो ग्रामीण क्षेत्रका नागरिकको आर्थिक अवस्था र आचरण सुधारको त्यो सफल अभियान।
चिनियाँ सुधारको केन्द्रबिन्दु सियाओखाङछोन
जनताबाट सिकेर राष्ट्रिय नीतिको निर्माणको अनुभव कोरिया मात्रै होइन चीनमा पनि छ।
चीनको आधुनिकीकरणमा सबैभन्दा महत्वपूर्ण योगदान पुर्याउने नेतामध्ये एक देङ सियाओपिङले पनि आर्थिक सुधारका लागि नागरिकहरूले निर्माण गरेको उदाहरणलाई प्रयोग गरेका थिए। त्यस्तो मापक निर्माण गर्ने गाउँ थियो सियाओखाङछोन।
चीनमा कृषि लगायत सबै गतिविधि सामूहिक रूपमा गरिने सन् १९७८ मा करिब ४०० जना बसोबास गर्ने एउटा सानो गाउँमा १८ घरधुरी कृषकहरूले अनौपचारिक रूपमा जग्गा बाँडेर कृषि गर्न थाले। केही थोरै जमिनमा भने सामूहिक कृषि निरन्तर गरे। सरकारलाई थाहा दिने कुनै भएनन्। उनीहरूले रातको समयमा भेला भएर लामो छलफल पश्चात् त्यस्तो सामूहिक निर्णय लिएका थिए र त्यसको नतिजा अर्को वर्ष नै देखियो। व्यक्तिगत रूपमा कृषि गर्दा सामूहिक कृषिबाट ५ वर्ष उत्पादन गरिने कृषि सामग्री एक वर्षमा नै उत्पादन गर्न सफल भए।
त्यसको दुई वर्षपछि अर्थात् सन् १९८० मा देङ सियाओपिङले सियाओखाङछोनको खबर सुने र त्यहाँका नागरिकहरूसँग संवाद गरे। यसलाई नै उदाहरण मानेर कृषि सुधारको योजना निर्माण र लागू गरे।
सेमाउल उन्दोंगको सुरुवात
सन् १९७० अप्रिल २२ मा कोरियाली राष्ट्रपति पार्कले स्थानीय जनप्रतिनिधिहरूको राष्ट्रिय बैठकबाट ‘गाउँलाई नयाँ बनाउने अभियान’ को रूपमा यो अभियानलाई घोषणा गरेका थिए। पछि यसलाई नयाँ गाउँ अभियान अर्थात् सेमाउल उन्दोंग भनियो। कोरियाली भाषामा नयाँलाई ‘से’ गाउँलाई ‘माउल’ र अभियानलाई ‘उन्दोंग’ भनिन्छ र यसलाई कोरियन भाषामा “सेमाउल उन्दोंग” भनिन्छ।
यो अभियानका सुरुवाती दिनहरूका तीन विशेषताहरू कालान्तरमा यो अभियानको सफलताको लागि निर्णायक रहे। पहिलो, राष्ट्रिय रूपमा प्रतिस्पर्धी वातावरण र सफल उदाहरणलाई प्राथमिकता। सन् १९७० अक्टोबरदेखि सन् १९७१ को जून महिनासम्म कोरियाभरका ३३ हजार २६७ गाउँमा प्रति गाउँ ३३५ बोरा सिमेन्ट अनुदानमा दिइयो र प्रत्येक गाउँलाई आफैंले योजना बनाएर भौतिक वातावरण सुधार गर्न भनियो।
गाउँलेले बाटो बनाउने, इनार, धारो बनाउने काममा यो सिमेन्ट खर्च गरे। केही गाउँमा घरको शौचालय र भान्सा बनाउने काममा सिमेन्ट दुरूपयोग पनि भयो। यसलाई राम्रोसँग प्रयोग गर्ने १६ हजार ६०० गाउँलाई थप ५०० बोरा सिमेन्ट र १ टन फलाम (रड) पनि प्रदान गरियो।
दोस्रो, गाउँलेलाई परिचालन गरेर विकास गर्न सकिन्छ भन्ने विश्वास भएपश्चात् सरकारले ग्रामीण परिचालनको लागि नयाँ गाउँ अभियान केन्द्रीय समिति गठन भयो। विस्तारै सो सञ्जाललाई प्रदेश, नगरहुँदै ३३ हजार भन्दा धेरै गाउँसम्म विस्तार गरियो।
दुई वर्षको अनुभवबाट एउटा निष्कर्ष निकालिएको थियो: गाउँको विकास गर्न गाउँमा नै अब्बल नेतृत्व हुनुपर्दछ। हरेक गाउँमा नयाँ गाउँ अभियानको नेतृत्व छनोट गर्ने र उनीहरूको नेतृत्व क्षमता विकास गर्न तालिम प्रदान गर्न थालियो। तेस्रो, गाउँमा महिला समितिदेखि विद्यालय र उद्योगमा पनि यो अभियान विस्तार गरियो। यसरी सेमाउल दक्षिण कोरियाको राष्ट्रिय अभियान बन्यो।
यी सबै गतिविधिबाट आम नागरिकमा तीन प्रकारको सोचको बीजारोपण गरियो। पहिलो, इमानदारी। मिहिनेत र परिश्रमले मानिसको जीवनलाई अर्थपूर्ण बनाउँछ भन्ने आम भाष्य सिर्जना गरियो। दोस्रो, आत्मनिर्भरता। आफ्नो भविष्य आफ्नै हातमा छ भन्ने कुरा नागरिकलाई शिक्षित गर्दै अभिप्रेरित गरियो। तेस्रो, सहकार्य। सबै जना मिलेर सहकार्य गर्दा मात्रै गाउँको रूपान्तरण सम्भव छ भन्ने उदाहरण देखाएर सिकाइयो। यस्तो अथक् प्रयासबाट एक पुस्तामा नै देशको आर्थिक एवं सामाजिक विकासमा कायापलट गर्ने चामत्कारिक नागरिक उत्पादन गरियो।
प्रमुख उपलब्धि
माथि उल्लेख गरे झैं यो अभियानले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जीवनस्तर सुधारमा निर्णायक भूमिका खेल्यो। सन् १९७० मा ग्रामीण परिवारको वार्षिक आय दुई लाख पचास हजार कोरियन वोन रहेकोमा सन् १९७९ मा दुई करोड दुई लाख पचास हजार कोरियन वोनमा पुग्यो अर्थात् नौ वर्षको अवधिमा ग्रामीण आयमा ९० प्रतिशत वृद्धि भएको थियो। सन् १९७० को अन्तिममा शहरको प्रति परिवार आय भन्दा गाउँको प्रति परिवार आय बढी रहेको थियो।
गाउँमा आर्थिक विकाससँगै भौतिक विकास लहर चलेको थियो। खरका छानाहरू फेरिए, कुलो, खानेपानीका धाराहरू बने। कच्ची सडकहरू पक्की भए। समग्रमा अहिले देख्न सकिने आधुनिक गाउँहरू निर्माण भए। अहिलेको समाज र देशको अवस्थामा चित्त बुझाउने होइन, परिवर्तन गर्नुपर्दछ भन्ने राष्ट्रिय अभियानको मूल फुट्यो। गाउँले शहरलाई पनि परिवर्तन हुन बाध्य बनायो।
उपनिवेश, युद्ध, केही निश्चित शहरकेन्द्रित औद्योगिकीकरण जस्ता विषयमा विभाजित समाजलाई ऐक्यबद्ध गर्ने काम गर्यो। सामाजिक पूँजीलाई सशक्त बनायो। ग्रामीण लोकतन्त्रलाई मजबुत बनायो। यस अर्थमा यो अभियानले ग्रामीण क्षेत्रको आर्थिक विकास सँगसँगै दक्षिण कोरियाली समाजको आधुनिकीकरणको आधारशिला खडा गर्यो।
यो अभियानले नागरिकहरूको आचरण र आत्मविश्वासमा आमूल परिवर्तन गर्यो। बिहान सबेरै उठ्ने, आफ्नो घर–आँगन सफा गर्ने, व्यायाम गर्ने, फुर्तिलो रहनु उनीहरूको दिनचर्या नै बन्यो। कुनै पनि काम समूहमा गर्नु, सामूहिक काम गर्नुपूर्व पूर्ण छलफल गर्ने विषयमा अभ्यस्त भए। नागरिकहरूमा असल आचरणहरू विकसित भए, नागरिक परिचालन सहज भयो।
गाउँबाट शहरमा जाने जनशक्ति प्रतिको सम्मान र आय वृद्धि भयो। हातमा सीप भएका इमानदार गाउँबाट आएका युवाहरू उद्योगमा भेला भए र त्यो नै कोरियाको औद्योगिक सफलताको प्रमुख आधार बन्न पुग्यो। धेरै कोरियाली विश्लेषकले यसलाई कोरियाली नागरिकहरूको आधुनिकीकरणको प्रक्रियाको रूपमा पनि व्याख्या गर्ने गरेका छन्।
सफलताको प्रमुख सूत्र
नागरिकको क्षमता विकास मार्फत आय वृद्धि, जनसहभागितामा गाउँको मुहार फेर्ने, भौतिक विकास गर्ने रणनीति र नागरिकको सोच एवं आचरण सुधारलाई समेटेर तर्जुमा गरिएको अभियानको सन्तुलित अवधारणा तथा राष्ट्रपतिको प्रत्यक्ष निगरानीमा एकीकृत राष्ट्रिय अभियानको सञ्चालन यो अभियानको सफलताका प्रमुख आधारहरू हुन्।
सारमा दक्षिण कोरियाको तत्कालीन ग्रामीण परिवेशले भोगेका समस्यालाई समाधान गर्ने बृहत् अभियानको खाका निर्माण एवं राष्ट्रियस्तरको परिचालनले यो अभियानलाई सफल बनायो। गाउँलाई रूपान्तरण गर्न प्रत्येक गाउँहरूमा रूपान्तरणका संवाहक बन्न सक्ने नेतृत्व विकास गर्नुपर्दछ भन्ने राज्यको धारणाले पनि यो अभियान सफलतामा निर्णायक भूमिका खेल्यो। यस्ता गतिविधिले नागरिक र राज्य बीचको विश्वासलाई अभिवृद्धि गर्यो, राष्ट्रप्रेमलाई थप मजबुत बनायो र नागरिकहरू बीच विश्वास अर्थात् सामाजिक पूँजी अभिवृद्धि गरायो।
अर्को भाषामा आर्थिक, सामाजिक एवं राजनीतिक विकास गर्न अत्यावश्यक अनौपचारिक संस्थाहरूको विकास गर्न सकेका कारण सो अभियान सफल भयो, कोरियाली विकास सम्भव भयो र कोरिया सफल भयो।
२१औं शताब्दीमा पनि १९७० मोडेलको निरन्तरता
सन् १९७० दशकको गाउँबाट सुरु भएको अभियान क्रमिक रूपमा राष्ट्रिय अभियान बन्यो र यसको राष्ट्रिय सञ्जाल निर्माण भयो। सुरुमा गाउँका कुला, कुलेसा र सडक निर्माणमा जुटेका अभियानकर्ताहरू अहिले राज्यको कल्याणकारी नीतिले पूर्ण न्याय गर्न नसकेका नागरिकहरूको सहारा हुन्छन्, गाउँ र शहरलाई थप सफा राख्ने कार्यक्रमहरू सञ्चालन गर्छन्, कार्बन उत्सर्जन कम गर्ने अभियान सञ्चालन गर्छन्।
हिजो पनि र आज पनि सेमाउल अभियन्ताहरू राज्यलाई दूरगामी प्रभाव पार्ने विषयको पूर्व तयारीमा जुटेका छन्। अहिले पनि यो अभियानमा दश लाख सक्रिय सदस्य छन् र उनीहरूले हरियो ज्याकेट लगाएर परोपकारी गतिविधि गरिरहेको यत्रतत्र देख्न सकिन्छ। अहिले संसारभर सेमाउल सिक्ने र आफ्नो देशको अवस्थासँग मिलाएर अभियान संचालन गर्ने लहर चलेको छ। संसारका २२ देशहरूमा सेमाउल नमूना गाउँ निर्माण गर्ने काम सम्पन्न भएको छ।
अहिलेको हाम्रो अवस्था र यसको उपादेयता
हामीसँग पनि गौरवशाली ‘आफ्नो गाउँ आफैं बनाउँ’ अभियान थियो। त्यसले किन राष्ट्रिय रूप लिन सकेन र अहिले किन शिथिल छ भन्ने प्रश्नको निर्मम समीक्षा गर्ने बेला भएको छ। बाढी र डुबानले आक्रान्त अहिले, किन आफ्नो गाउँ आफैं बनाउँको नारा लगाउँदै उद्धारमा जुट्न सकेनौं ? यस्ता प्रश्नहरूलाई हामीले हाँसो–ठट्टामा उडाउन थालेको धेरै भइसक्यो। गाउँमा युवा कहाँ छन्। एनजीओ, आईएनजीओले गाउँका मानिसको बानी बिगारे भन्यो। हाँसेर उडायो। त्यसको पनि प्रभाव छ तर त्यो सबै होइन।
हामीले जानेर वा नजानेर आफ्नो गाउँ आफैं बनाउँलाई राष्ट्रियकरण कम र दलीयकरण धेरै गर्यौं । देशका दुई ठूला दल अहिले सरकारमा छन्। एउटा साझा र राष्ट्रिय कार्यक्रम घोषणा गरे कति राम्रो हुन्थ्यो। अनि अहिलेको प्रकोपबाट नै त्यसको सफल अभ्यास गर्न पाए झनै राम्रो हुन्थ्यो। सेमाउलको तुलनामा आफ्नो गाउँ आफैं बनाउँमा नागरिकको आचरणमा सुधार गर्ने र आय आर्जन वृद्धि गर्ने विषयले कम प्राथमिकता पाएको थियो।
जसरी कोरियाले तत्कालीन समयको गाउँका समस्यासँग मिल्ने कार्यक्रम ल्याएको थियो हामीले पनि अध्ययन गरेर अर्को कार्यक्रम ल्याउनुपर्दछ। यो कार्यक्रमलाई स्थानीय स्तरमा सञ्चालन गर्ने नेतृत्वको क्षमता विकास अपरिहार्य हुन्छ। र त्यसको लागि केन्द्रीय तालिम केन्द्र आवश्यक हुन्छ। उपभोक्ता समितिमा हामीले भोगेको दुर्दशाबाट पाठ सिक्नुपर्दछ।
जबसम्म गाउँ सबल हुँदा मात्र आर्थिक विकास सम्भव छ भन्ने मान्यतालाई स्वीकार गरेर अभियान निर्माण गरिंदैन त्यस्तो अभियानले पूर्णता पनि पाउन सक्दैन र सफल हुन पनि सक्दैन। गाउँमा सीप सिकेका काममा इमानदार युवा शहर आउँदा उनीहरूको शहरी जीवन पनि सहज हुन्छ। यसरी हामीले गाउँमा गरिने अभियानको विषय र त्यसको प्रभावको बहुआयामिकतामा कम ध्यान दियौं, प्रचार गर्यौं।
संसारबाट हामीले सिक्नुपर्दछ, नागरिकहरूमा आत्मविश्वास, सुमधुर सम्बन्ध र विश्वास नहुँदासम्म कुनै पनि प्रकारको सामाजिक, आर्थिक एवं राजनीतिक विकासले गति लिन सक्दैन। यसमा कुनै ‘वाद’ मा पनि अपवाद छैन। हामीलाई अहिले सामाजिक र आर्थिक समस्यासँग जुध्न एउटा राष्ट्रिय अभियानको खाँचो छ।
जलवायु परिवर्तन, अकल्पनीय बसाइँसराइ, हाम्रो दैनिक दिनचर्यामा आएको रूपान्तरणका कारण सिर्जित नयाँ समस्या, तीस वर्षको विभाजनको राजनीतिले सिर्जना गरेका राजनीतिक एवं सामाजिक समस्याहरू आदिसँग भिडेर नेपाल र नेपालीलाई विश्व मानचित्रमा थप सम्मान पाउने बनाउन सक्ने नागरिकको क्षमता र आचरण विकास तथा उनीहरू बीच उत्पादक, सृजनशील र सुमधुर सम्बन्ध स्थापित गर्न एक राष्ट्रिय अभियानको खाँचो छ।