जीवनको बुझाइ अनन्त छ, कसैले यसको परिभाषालाई बिट मार्न सकेका छैनन्। कुनै चाहना र स्वार्थबिनाको जीवन कति सुन्दर हुन्छ। जहाँ दुःख, पीडा, अप्राप्ति र स्वार्थ हुँदैन। त्यसमाथि प्रकृतिको साथ र भूमिकाले मान्छेलाई ईश्वरसँगको तादात्म्य सजिलै जुराइदिन्छ। निसन्देह यस्तैयस्तै कठोर तर पाइलापाइलामा अप्रतिम सुन्दर भावना र परिदृश्य बोकेर कवि बनेका सयपत्री थुलुङको व्यक्तित्वलाई नजिकबाट नियाल्दा यही महसुस हुन्छ।
सुन्दर हिमालको काखमा उकालीओराली, चौरीखर्क गर्दै सुनगाभा, बुकी र गुराँसका रङ्गीन दृश्य र हिमालका क्षणक्षणमा फेरिने मोहक रूपले को मात्र विस्मृत नहोलान् त? कलकल गर्दै बगेका गन्तीहीन झरनाहरू र हिमनदीको कलकलले कसलाई गायक नबनाएको होला त? यस्तै वातावरणमा हुर्किएकी हिमबाला सयपत्री थुलुङ कवि बन्नुमा कुनै आश्चर्य नै रहेन।
नेपाली साहित्याकाशमा झुल्किएको एउटा विशेष कवितासंग्रहको नाम ‘गाउँ फर्किरहेको परदेशी’ हो। कवि सयपत्री थुलुङका ३५ थान कविता बोकेको सङ्ग्रहभित्र अधिकांश सिर्जना मनमोहक भेटिए। साहित्यले समाज, गाउँ शहर र सिङ्गो भूगोलको प्रतिनिधित्व गर्ने कुरामा दुई मत छैन। साहित्यकै हाल सर्वथा लोकप्रिय साहित्यिक विधा कविताले समाज, जनजीवन र समय दर्शाउँछ।
उनको यस ‘गाउँ फर्किरहेको परदेशी’ कवितासङ्ग्रहमा सङग्रहीत कविता पढ्दै गर्दा पंक्तिकारको मनको क्यानभासमा असरल्ल भावना सिर्जित भए, बगे /बहे र बिलाए। कतिपय भावना मस्तिष्कका अन्तरकुन्तरमा अद्यापि गढेका छन्। आजको तीतो यथार्थ टोलटोल गाउँगाउँ युवाविहीन हुँदै गएको अवस्थामा कविले आफू गाउँ फर्केपछि फेरिएको अवस्था उधारो सपना कवितामा यसरी चित्रित गरेका छन्:
मसँग मेरो हत्केला छ
जसलाई उठाउँदा गाउँ उजेलिन्छ।
मसँग एकजोर पैताला छ
जसलाई हिंडाउँदा
सँगसँगै हिंड्छ मुहारमा
उज्यालो बोकेर मेरो देश। (उधारो सपना, पृ.९४)
अतः गाउँठाउँ र समग्र देशको मुहार हँसिलो बनाउन र अग्रगामी गति दिन पनि युवाहरू गाउँ फर्किनुपर्ने आशय व्यक्त भएको छ।
त्यसो त सर्वथा चेतनशील मान्छेको मन समय र अवस्थाअनुसार भावनाको तरंग तैरिरहन्छ। मनले महसुस गर्ने र आँखाले देखेका दृश्यहरूबाट मनमा उठेका भावनालाई गुनगुनाएर गीत/कवितामा पोख्ने गरिन्छ। आजपर्यन्त साहित्यको कुनै पनि विधाभन्दा भावना र मनका गुम्फन वा सिर्जना पस्कने कविता नै बहत् र विहङ्गम माध्यम हो भन्दा अत्युक्ति ठहर्दैन।
जसरी सृष्टिको सुन्दर सिर्जना नारी हुन्। त्यसरी नै सिर्जनाका मुहान हाम्रा आमा/चेलीहरूको भूमिका वास्तवमै सीमाहीन छ यस धर्तीमा र हाम्रो जीवनका लागि। कविले इङ्गित गरेका छन् तलका हरफहरूमा यसो मनन गरौं न:
यहाँ भत्काउनु जो छ,
हाम्रो मस्तिष्कको सङ्कीर्ण छाउघर
मेटाउनु छ छायाँ जस्तै पछ्याइरहने
हाम्रो स्वतन्त्र आकाशको पुरातन बादल
घाम उदाउनुअघि नै
उदार बन्नु छ समानताको पारिलो घाम
र फैलिएर यो ब्रम्हाण्डको चारैतिर
भन्नु छ हामी यो सिङ्गै आकाशको
आधा हिस्सा हौं
र पूरा ब्रम्हाण्ड हौं। (आधा आकाश, पृ. ६)
चेलीहरू कुनै आँगनका गुलाफ हुन्छन्। नारी भएर दुई पाङ्ग्रामध्ये एक हुन्छन्, जसबिना जीवनको गाडीको यात्रा असम्भव जस्तै हुन्छ मान्छेको जीवनको। दृष्टिकोणलाई फराक बनाउन र चेली/आमाहरूप्रति संकीर्ण सोच हटाउन आह्वान गरिएको कविता आधा आकाशले पाठकको वास्तवमै मनमुटु छुनेछ।
मातृभूमिको गाउँकन्दरा मात्र नभई प्रवासको समेत गरी अन्तर्राष्ट्रिय कोलाज, मायाप्रेमका हरफहरूलाई कवितामा उतार्न सिपालु छन् कवि सयपत्री। उनको कविताले यस भूगोलको धेरै देशको संस्कृति, चलन र प्रकृतिलाई अँगालेर छरपष्ट सुकोमल भावनाहरू पोखेका छन्। शब्दचयन गजबका पाइन्छन्।
जस्तै:
मैले प्रेमपत्र कोर्दै डाकखानामा छाडेर फर्किँदा
कोक्रोमा च्याँच्याँ गर्दै रुने
छोयाङ डोल्मा र खुसे,
साइबरिया मायामा शब्दपत्र
कोर्ने भएछन् अचेल।
ए! च्याङ्बा …! मसँग छ
केही जितको रङ्गशाला
केही हारको म्याराथन पनि
म यसरी नै
हारजितको रङ्गहरू मिसाएर
जिन्दगीको कोलाज बनाइरहेछु। (जिन्दगीको कोलाज, पृ.१२)
आजको नेपालको टीठलाग्दो न्यायप्रशासन र सुशासनका झुठा पुलिन्दाहरू बोकेर पनि आम नागरिकले भोग्नुपरेको बिडम्वना वास्तवमै कठोर सत्य हो। सुनितानमिताहरूदेखि निर्मला पन्तहरूको बलात्कारलाई लुकाउनै लागिपरेको न्यायप्रशासनमाथि के आधारले विश्वास गर्नू र? देश दुखेको छ, न्याय मरेको छ, जसले युवा लगायत सबैका सबै विदेश भासिएको यो महानाजुक अवस्थालाई सुन्दर कविले पुस्तकको क्यानभासमा यसरी चित्रित गरेकी छिन्:
समानताको अक्षर र कानुनकै धारा
कुल्चिएर फूल जस्ता सपना
बेचिन्छ गोजीमै कानुनको कुमारीत्व
बरु एकतमास हेरिरहन्छन्
फैसलाको धुरीमा बसेर
श्रीमानहरू/महोदयहरू
न्यायको रातो किताब हातमा बोकेर
के पढे होलान् न्यायका पूजारीहरूले?
अन्यायलाई अन्याय, न्यायलाई न्याय
भन्न सक्दैनन् न्यायका प्रतिमूतिहरू कठै! (न्यायको पृष्ठभूमि, पृ.७७)
यस सङग्रहमा कविताको विराटपनलाई महसुस गरेका कवि भूपाल राई, सयपत्री थुलुङका कवितालाई यसरी पक्षपोषण गर्दछन्, ‘त्यसो त यी कविताका सामाजिक यथार्थलाई चित्रण गर्न पनि सफल छन्। सरल भाषाको प्रयोगले उहाँका कविता बोधगम्य बनेका छन्।
उपयुक्त शब्द संयोजनले कवितामा मीठास थपिएको छ। नेपाली संस्कृतिको महत्त्वलाई परदेशमा रहने नेपालीले अझ राम्रोसँग बुझ्न पाएका हुन्छन्। उहाँका कवितामा पनि त्यस्तै आशय प्रतिबिम्बित भएको मैले महसुस गरें।’
समष्टिमा कवि सयपत्रीका सम्पूर्ण कविता गाउँ, समाज र राष्ट्रका लागि समर्पित छ। यसै पनि युवा कविले आफ्नो ढुकढुकीमा फक्रिँदो मायाप्रेम, माटो र अटुट देशप्रेम सँगालेको मैले पाएँ। कविताहरू औसतभन्दा धेरै माथिल्ला स्तरका छन्। आवरणको रङ्ग संयोजन उम्दा छ। यदाकदा भेटिएका व्याकरणीय दोष सम्पादकबाट हटाउन पाएको भए सुनमा सुगन्धको कुरो हुन्थ्यो। कविताहरू पढ्दै जाँदा हुने सनसनी, भावनाको लहर उठाउन सक्षम भएकाले सत्यमै कृति सङग्रहणीय बनेकोमा कुनै शङ्का रहेन। यस्तै अझ उपल्लो स्तरका कृतिहरूको म अपेक्षा गर्दछु। मेरो शुभकामनाका साथै लेखनिलाई बिट मार्न चाहन्छु। अस्तु।
– सानुराजा श्रेष्ठ अञ्जान
प्रकाशित: १५ मंसिर २०८१ १०:४० शनिबार