काठमाडौं । इरान र इजरायलबीचको युद्धमा शनिबारदेखि अमेरिकाको पनि प्रवेश भएको छ । १३ जुन अर्थात् (२९ जेठमा) अमेरिकाको बलमा इजरायलले इरानको आणविक केन्द्रमा हवाई हमला गरेपछि दुई देशबीच युद्ध सुरु भएको थियो । त्यसयता दुई देशबीच हवाई हमला निरन्तर भइरहेको थियो । जुन हमलामा परेर दुवैतर्फ ८ सयभन्दा बढी नागरिक मृत्यु भएको छ भने हजारौं नागरिक घाइते भएका छन् ।
– इजरायल–इरान युद्धमा अमेरिकाको प्रवेश
– तीन इरानी परमाणुमा अमेरिकी बम प्रहार
इजरायलले इरानमाथि हवाई हमला गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका थिए । साथै, उनले इरानले छिटो न्युक्लियर सम्झौता गर्नुपर्ने अन्यथा पुनः आक्रमण हुने भन्दै चेतावनी दिइरहेका थिए । न्युक्लियर सम्झौता गर्नका लागि अमेरिकाले इरानसँग वार्ता गर्ने मिति नजिकिएका बेला इजरायलले इरानको भूमिमा आक्रमण गरेको थियो । जुन हवाई हमलापछि इरानले अमेरिकासँग गर्ने भनेको वार्ता भंग भएको घोषणा गरेको थियो ।
यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानको युद्धमा अमेरिका सामेल हुने जानकारी दिइसकेका थिए । दुई दिनअघि मात्रै ट्रम्पले इरानलाई दुई साताभित्र सम्झौता गर्न भनेका थिए । इजरायलको आक्रमणबाट क्रुद्ध भएको इरानले न्युक्लियर सम्झौता नगर्ने अडान लिएपछि शनिबार राति अमेरिकाले इरानका तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका थिए ।
उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ । यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान पौने ५ बजे भएको हो । ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रूपमा आफ्नो घर फर्किरहेका छन्, हाम्रा महान् अमेरिकी योद्धालाई बधाई ! विश्वमा कुनै पनि अरू सेना छैनन्, जो यो काम गर्न सक्षम छन्, अब शान्तिको समय हो ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् ।
इरानले भने अमेरिकी सेनालाई इरानी सेनाले रोक्ने कोसिस गरेको बताएको छ । तर, आक्रमण रोक्नका लागि असफल भएको इरानको मेहर न्युजले बताएको छ । परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्विकारेको छ । अमेरिकाले इरानका विभिन्न परमाणु क्षेत्रमा क्षति पु¥याएको दाबी गरे पनि इरानले भने अस्वीकार गर्दै आइरहेको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार हमलाको पूर्वसन्ध्यामा तीनवटै परमाणु केन्द्रहरू खाली गरिएका थिए । सरकारी च्यानलका राजनीतिक ब्युरो उपनिर्देशक हसन अबेदिनीले भनेका छन्, ‘ट्रम्पले भनेजस्तो आक्रमण भएको हो भने पनि इरानले त्यसबाट कुनै खास क्षति व्यहोर्नुपरेको छैन, सामग्रीहरू पहिले नै स्थानान्तरण गरिसकिएको थियो ।’
तस्निम समाचार एजेन्सीका अनुसार, कौम प्रान्तको व्यवस्थापन शाखाका प्रवक्ता मोर्तज हैदरीले बताएअनुसार फोर्दो केन्द्रको केही भाग हवाई आक्रमणमा परेको हो । इस्फहानका सुरक्षा उप–गभर्नर अकबर सलेहीले भनेका छन्, ‘नतान्ज र इस्फहान क्षेत्रमा धेरै विस्फोटका आवाज सुनिएका छन् ।’
रोयटर्सले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार आक्रमणमा बी–२ स्टेल्थ बमवर्षक विमान प्रयोग गरिएको जनाएको छ । यी बमवर्षक अत्याधुनिक बंकर बुस्टर बम खसाल्नमा प्रयोग गरिन्छ ।
यसअघि यस्ता विमान गुआम पठाइएको खबर सार्वजनिक भएपछि अमेरिका आक्रमण गर्ने तयारीमा रहेको अनुमान गरिएको थियो । अमेरिकाले निसाना बनाएका स्थानमध्ये एउटा फोर्दो हो । त्यो भनेको इरानको महत्वाकांक्षी परमाणु कार्यक्रमका लागि युरेनियम संवर्धन गर्ने दुर्गम पहाडी भागमा जमिनमुनि रहेको एउटा प्लान्ट हो ।
फोर्दोमा भएको क्षतिको पूर्ण विवरण अझै बाहिर आएको छैन । अमेरिकाले अन्य दुई परमाणु केन्द्रहरू नतान्ज र इस्फहानमा पनि प्रहार गरेको बताएको छ । तेहरानको दक्षिणमा रहेको पहाडमा रहेको फोर्दोलाई यूके र फ्रान्सलाई जोड्ने च्यानल टनेलभन्दा गहिरो भूमिगत केन्द्र मानिन्छ । फोर्दो जमिनमुनि निकै गहिराइमा रहेका कारण त्यसलाई नष्ट गर्नसक्ने ‘बंकर बस्टर’ बम अमेरिकासँग मात्र छ । त्यो अमेरिकी बमलाई जीबीयू–५७ म्यासिभ ओर्डनेन्स पेनिट्रेटर (एमओपी) भनिन्छ ।
विज्ञका अनुसार सो बमको तौल १३ हजार किलोग्राम छ र विस्फोट हुनुअघि यो करिब १८ मिटर (६० फिट) सम्मको कंक्रिट वा ६१ मिटर (२ सय फिट) गहिराइसम्मको माटो र ढुंगामाटोसहितको भूसतहमा पुग्नसक्छ । फोर्दो केन्द्रका सुरुङको गहिराइका कारण एमओपी पनि सफल हुने ग्यारेन्टी छैन यद्यपि त्यसलाई नष्ट गर्न वा त्यसको नजिक पुग्नसक्ने यो मात्र गैरपरमाणु बम हो । पछिल्लो हमलामा अमेरिकी सञ्चारमाध्यमले एमओपी प्रयोग गरिएको बताएका छन् ।
इरानले पनि सुरु ग-यो ‘अपरेसन अनेस्ट प्रमेस–३’
इरानले इजरायलको राजधानी तेल अभिभस्थित बेन गुरियन एयरपोर्टसहित कयौं महत्वपूर्ण क्षेत्रमा आक्रमण गरेको छ । इरानको सरकारी न्युज एजेन्सी फार्सका अनुसार यस जवाफी कारबाहीको नाम अप्रेसन अनेस्ट प्रमेस–३’ दिइएको छ ।
इरानका सरकारी सञ्चारमाध्यमले इरानले पहिलोपटक आफ्नो सबैभन्दा अत्याधुनिक खैबर मिसाइल प्रहार गरेको जनाएका छन् । यस मिसाइललाई खोर्रमसहर–४ नामले पनि चिनिन्छ । यो मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो । जसले करिब २ हजार किलोमिटरसम्म निसानामा प्रहार गर्न सक्छ । करिब १३ मिटर लम्बाई भएको यो मिसाइलको पेलोड १ हजार ५ सय किलोग्राम छ ।
त्यसैले, यो निसानामा बढी विध्वंसक बन्नसक्छ । इरानले प्रहार गरेको खैबर मिसाइलको निसानामा इजरायलसहित मध्यपूर्वका देश र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डासमेत रहेका छन् । यसका साथै यस मिसाइलले इरानबाट दक्षिण र पश्चिम एसिया, मध्यपूर्व, अफ्रिका र युरोपका केही क्षेत्रसमेत निसानामा आउन सक्छन् ।
इरानले अमेरिकी हमलाको जवाफमा इजरायलको बेन गुरियन विमानस्थल र केही सैन्य अड्डालाई समेत निसाना बनाएको हो । खैबर इरानको सबैभन्दा आधुनिक र शक्तिशाली मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रहरूमध्ये एक हो । इरानको सैन्य शक्तिको प्रतीक मानिने यस मिसाइलको नाम सातौं शताब्दीको खैबरको युद्धबाट प्रेरित भएर राखिएको हो ।
यसले इस्लामिक इतिहासको एक महत्वपूर्ण युद्धलाई स्मरण गराउँछ । यसले शत्रुको हवाई रक्षा प्रणालीलाई समेत असफल पारेर हमला गर्नसक्छ । ठोस इन्धनबाट चल्ने भएकाले यसलाई छिटो र सुरक्षित रूपमा प्रक्षेपण गर्न सकिन्छ । यो मिसाइल वायुमण्डलमा उडिरहेका बेला जुनसुकै बेला दिशा परिवर्तन गर्न सक्षम रहेकाले इजरायलको आइरन डोमजस्ता मिसाइल प्रतिरक्षा प्रणालीबाट समेत बच्न सक्छ ।
हमलाले इरान आक्रोशित, इजरायल उत्साहित
एक साताअघिदेखिको इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि सामेल भएर हवाई हमला गरेसँगै इरान आक्रोशित बनेको छ । इजरायल भने अमेरिकाको हमलाबाट उत्साहित बनेको छ । यो तनाव इजरायल र इरानबीचको मात्रै नभएर अन्य शक्तिशाली राष्ट्रसमेत तानिने सम्भावना देखिन्छ । यस युद्धले विश्व समुदाय भने सम्भावित युद्धको चपेटामा पर्ने चिन्तामा छ । यो अवस्था अझ कति जटिल मोडमा पुग्छ भन्ने प्रश्न अहिलेको प्रमुख चिन्ता हो ।
सुरुमा इरान र इजरायलबीच मात्रै चलिरहेको युद्धमा अब अमेरिका होमिएसँगै यो जटिल बनेको विश्लेषण भइरहेको छ । यसैबीच, अमेरिकी आक्रमणपछि अहिलेसम्म भएका प्रमुख घटना यहाँ उल्लेख गरिएको छ ।
शनिबार राति अमेरिकाले इरानका तीन मुख्य परमाणु केन्द्रहरू, फोर्दो, नन्ताज र इस्फहानमा हवाई आक्रमण ग¥यो । यसको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै गरेका थिए । आक्रमणपछि उनले ‘अब इरानले शान्ति स्थापना गर्नैपर्छ’ भनेर सम्बोधन गरे । ट्रम्पले आइतबार बिहान सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामीले फोर्दो, नन्ताज र इस्फहानसहित तीनवटै परमाणु केन्द्रमा सफल आक्रमण ग¥यौं, सबै विमान सुरक्षित रूपमा इरानको हवाई सीमाबाट बाहिर आइसकेका छन् ।’
तर, इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले अमेरिकाले संयुक्त राष्ट्रसंघको चार्टर, अन्तर्राष्ट्रिय कानुन र आणविक अप्रसार सन्धिको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन् । ‘संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य रहेको अमेरिकाले शान्तिपूर्ण परमाणु कार्यक्रममाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुन तोडेको छ, यसका गहिरा र दीर्घकालीन परिणाम हुनेछन्,’ अराघचीले एक्समा लेखेका छन्, ‘इरानसँग आफ्ना सार्वभौमिकता, हित र जनताको सुरक्षा गर्न सबै विकल्प छन्, अन्तर्राष्ट्रिय समुदायले यो खतरनाक र आपराधिक व्यवहारको विरोध गर्नुपर्छ ।’
आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पको निर्णयको समर्थन गर्दै भनेका छन्, ‘शक्ति आउँछ, अनि मात्र शान्ति आउँछ, आज रात अमेरिकाले अत्यन्त शक्तिशाली कारबाही देखायो ।’
ट्रम्पले पनि नेतन्याहु र इजरायली सेनालाई धन्यवाद दिँदै भनेका छन्, ‘हामीले अझ धेरै केन्द्रलाई लक्ष्य बनाउन बाँकी छ, यदि इरानले शान्ति रोजेन भने भविष्यमै हुने आक्रमण अझ ठूला हुनेछन् ।’
प्यालेस्टिनी विद्रोही समूह हमासले अमेरिकाको आक्रमणलाई अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामाथिको प्रत्यक्ष आक्रमण भनेको छ । आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै खारेजीको माग पनि गरेको छ ।
गुटेरेसको अपिल
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरूलाई तनाव नबढाउन र अन्तर्राष्ट्रिय कानुन पालना गर्न अपिल गरेका छन् । यसैबीच, इजरायली सेनाले इरानको पश्चिमी भागमा रहेका सैन्य आधार शिविरमा आक्रमण सुरु गरिसकेको बताएको छ ।
इरानले बदला लिन सक्ला ?
१३ जुनमा इजरायलले इरानमा आक्रमण गरेलगतै इरान कमजोर भएको आँकलन गरिएको छ । तर, इरानले भने अमेरिकाको सैन्य अखडामा हमला गर्नसक्ने संकेत दिइसकेको छ । त्यसअघि नै अमेरिकाले आफ्नो सैन्य अखडालाई सतर्क राखिसकेको अवस्था छ ।
अमेरिकाले मध्यपूर्वका १९ वटा देशमा आफ्ना सैन्य शिविर राखेको छ । त्यसमा बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सलगायत पर्छन् । इरानले स्वतः निसानामा पार्नसक्ने अमेरिकी सैन्य अखडामा बहराइनको मिना सल्मानस्थित अमेरिकी नौसेनाको फिफ्थफ्लिट हेडक्वाटर्स पर्छ ।
इरानले स्ट्रेट अफ हर्मुजमा रहेका जल ढुवानी मार्गहरूलाई पनि निसानामा पार्न सक्छ । त्यसले पर्सि गल्फलाई हिन्द महासागरसँग जोड्छ र विश्वमा हुने तेल आपूर्तिको ३० प्रतिशत ढुवानी त्यहीँबाट हुन्छ । उसले अन्य समुद्री मार्गमा पनि आक्रमण गर्न सक्छ र त्यसले विश्वव्यापी बजारलाई अस्थिर बनाउने जोखिम बढाउँछ ।
इरानले अमेरिकालाई सहयोग गरिरहेको ठानेका नजिकका देशहरूको सम्पत्तिलाई लक्षित गर्न सक्छ र त्यसले सम्पूर्ण क्षेत्रमा युद्ध फैलिने जोखिम निम्तिन सक्छ । अमेरिकी बम विस्फोटको केही घण्टापछि इरानले इजरायलतर्फ नयाँ क्षेप्यास्त्रहरू प्रहार गरेको थियो । उसले हाइफा, तेलअभिभ र जेरुसेलममा क्षेप्यास्त्र हमला गर्दा त्यहाँ विस्फोटन सुनिएका थिए ।
इरानमा प्रयोग गरिएको बंकर–बस्टर बम के हो ?
इरानविरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नोे विशाल ‘बंकर–बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक साताभरको आक्रमणमा अछूतो रहेको फोर्डोलाई क्षति पु-याउने वा नष्ट गर्ने सबैभन्दा राम्रो मौकाका रूपमा हेरिएको थियो । आधिकारिक ब्रिफिङअघि अपरेसनका ’boutमा छलफल गर्न नाम नछाप्ने सर्तमा बोल्दै एक अमेरिकी अधिकारीले आइतबारको आक्रमणमा तिनीहरूको प्रयोगको पुष्टि गरेका छन् ।
अमेरिका मात्र यी हतियार खसाल्न सक्षम सेना हो र शनिबार एसियातर्फ बी–२ स्टेल्थ बमवर्षकको आवागमनले अमेरिकाको सम्भावित गतिविधिको संकेत दिएको थियो ।
इजरायली नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नोे एक साता पुरानो इरानविरुद्धको युद्धमा सामेल हुने आफ्नोे आशालाई नलुकाएको बताएका छन् । यद्यपि, उनीहरूले साइट नष्ट गर्न ब्याकअप योजनाहरू पनि रहेको सुझाव दिएका थिए ।
फोर्डोमा कतिको क्षति भएको थियो भन्ने कुरा आइतबार बिहान अस्पष्ट रह्यो । यस मिसनको व्यापक असर हुनसक्छ, जसमा इरानले आफ्नोे आणविक कार्यक्रममा ट्रम्पको इच्छित वार्तामा संलग्न हुने र अमेरिकालाई अर्को मध्यपूर्व युद्धमा तान्ने कुनै पनि अवसरलाई खतरामा पार्नु समावेश छ ।
बंकर–बस्टर बम के हो ?
‘बंकर बस्टर’ विस्फोट हुनुअघि सतहको गहिरो मुनि प्रवेश गर्न डिजाइन गरिएका बमहरूको वर्णन गर्न प्रयोग गरिने फराकिलो शब्द हो । यस अवस्थामा यसले अमेरिकी शस्त्रागारमा रहेको पछिल्लो जीबीयू–५७ ए–बी म्यासिभ अर्डनान्स पेनेट्रेटर बमलाई जनाउँछ ।
अमेरिकी वायुसेनाका अनुसार लगभग ३० हजार पाउन्ड (१३ हजार ६ सय किलोग्राम) को यो सकी–निर्देशित बम गहिरो गाडिएका र कडा बंकर र सुरुङमाथि आक्रमण गर्न डिजाइन गरिएको छ । यसले विस्फोट हुनुअघि सतहबाट लगभग २ सय फिट (६१ मिटर) मुनिसम्म प्रवेश गर्नसक्ने विश्वास गरिन्छ र प्रभावकारी रूपमा प्रत्येक क्रमिक विस्फोटसँगै गहिरो र गहिरो ड्रिल गर्दै बमहरू एकपछि अर्को खसाल्न सकिन्छ । आइतबार बिहानको आक्रमणमा कतिवटा बंकर–बस्टर बम प्रयोग गरिएको भन्ने’bout थाहा हुन सकेको छैन ।
बमले परम्परागत वारहेड बोक्छ, तर अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले इरानले फोर्डोमा उच्च संवर्धित युरेनियम उत्पादन गरिरहेको पुष्टि गरेको छ । जसले गर्दा जीबीयू–५७ ए÷बी लाई सुविधामा प्रहार गर्न प्रयोग गरियो भने आणविक सामग्री यस क्षेत्रमा छोड्नसक्ने सम्भावना बढेको छ । यद्यपि, अर्को इरानी आणविक साइट नतान्जमा सेन्ट्रिफ्युज साइटमा इजरायली आक्रमणले ’roundको क्षेत्रमा नभई साइटमा मात्र प्रदूषण निम्त्याएको आईएईएले बताएको छ । अमेरिकी लडाकु विमानहरूले पनि नातान्जमा प्रहार गरेका छन् ।
फोर्डो कत्तिको कठिन लक्ष्य हो ?
इजरायली हवाई आक्रमणले लक्षित भइसकेको नतान्जपछि फोर्डो इरानको दोस्रो आणविक संवर्धन केन्द्र हो । आईएईएले ती आक्रमणले सुविधाको भूमिगत सेन्ट्रिफ्युज हलहरूमा ‘प्रत्यक्ष प्रभाव’ पारेको विश्वास गरेको छ ।
फोर्डो नतान्जभन्दा सानो छ र तेहरानबाट करिब ६० माइल (९५ किलोमिटर) दक्षिणपश्चिममा कोम सहरनजिकैको पहाडको छेउमा निर्मित छ । यो सन् २००६ को आसपास निर्माण सुरु भएको विश्वास गरिन्छ र यो सन् २००९ मा पहिलोपटक सञ्चालनमा आएको थियो । त्यही वर्ष तेहरानले सार्वजनिक रूपमा यसको अस्तित्व स्वीकार गरेको थियो ।
चट्टान र माटोमुनि अनुमानित ८० मिटर (दुई सय ६० फिट) हुनुका अतिरिक्त साइट इरानी र रूसी सतह–देखि–हावा मिसाइल प्रणालीहरूद्वारा सुरक्षित भएको उल्लेख छ । यद्यपि, ती वायु रक्षा सम्भवतः पहिले नै इजरायली अभियानमा प्रहार भइसकेका छन् । इजरायलले इरानका धेरैजसो वायु रक्षा ध्वस्त पारेको दाबी गरेको छ ।
अझै पनि इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानमाथि आक्रमण गर्ने लक्ष्य यसको क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई उन्मूलन गर्ने बताएका छन् । उनले इरानको क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई इजरायलको अस्तित्वका लागि खतरा भएको बताउँदै आएका छन् । अधिकारीहरूले फोर्डो त्यस योजनाको हिस्सा भएको बताएका छन् ।
अमेरिका किन संलग्न हुनुप-यो ?
सिद्धान्तमा जीबीयू–५७ ए–बीलाई वजन बोक्न सक्षम कुनै पनि बमवर्षकले खसाल्न सक्छ, तर अमेरिकी वायुसेनाका अनुसार हाल अमेरिकाले आफ्नोे बी–२ स्पिरिट स्टेल्थ बमवर्षकलाई मात्र बम डेलिभर गर्न कन्फिगर र प्रोग्राम गरेको छ । बी–२ केवल वायुसेनाद्वारा उडाइन्छ र नर्थरोप ग्रुम्यानद्वारा उत्पादन गरिएको हो ।
निर्माताका अनुसार बी–२ ले ४० हजार पाउन्ड (१८ हजार किलोग्राम)को पेलोड बोक्नसक्छ तर अमेरिकी वायुसेनाका अनुसार उसले कुल वजन करिब ६० हजार पाउन्ड (२७ हजार २ सय किलोग्राम)सहितका दुईवटा जीबीयू–५७ ए–बी बंकर बस्टरहरू लोड गरेको बी–२ को सफल परीक्षण गरेको छ ।
नर्थरोप ग्रुम्यानका अनुसार रणनीतिक लामो दूरीको भारी बमवर्षकको इन्धन नभर्दै लगभग ७ हजार माइल (११ हजार किलोमिटर) र एकपटक इन्धन भर्दा ११ हजार ५ सय माइल (१८ हजार ५ सय किलोमिटर) को दायरा छ भने केही घण्टामा संसारको कुनै पनि विन्दुमा पुग्नसक्छ ।
(Visited 1 times, 1 visits today)