कर्णाली विकास बैंकमा १ अर्ब २६ करोड अपचलन


१४ पुस, नेपालगञ्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको तथ्य खुलेको छ ।

बैक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान गरिएको हो ।

बैक अध्यक्ष डा. मिश्रको संयोजकत्वमा ५ पुसमा पाँच सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले प्रारम्भिक प्रतिवेदन तयार पारी ८ पुसमा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र नेपाल राष्ट्र बैंकको वित्तीय सुपरीवेक्षण विभागलाई प्रतिवेदन बुझाएको थियो ।

अनलाइनखबरलाई प्राप्त डा. मिश्र छानबिन प्रतिवेदनमा बैंकको करिब १ अर्ब २६ करोड अपचलनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भन्ने बेदप्रकाश ठकुरी तथा हालका सीईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाह संलग्न किटान गरिएको छ ।

अपचलन भएको रकममध्ये पूर्वअध्यक्ष एवं कार्यकारी प्रमुख रायले करिब ७० करोड र पूर्वसीईओ रावत, पूर्ववित्त विभाग प्रमुख ठकुरी र हालका सीईओ तथा वित्त विभाग प्रमुख शाहले करिब २०/२० करोड अपचलन गरेको अनुमान गरिएको छानबिन समितिका एक सदस्यले बताए ।

छानबिन समिति संयोजक एवं बैंकका वर्तमान अध्यक्ष मिश्र र सदस्यको टोलीले अपचलनमा संलग्न रहेको आशंका गरी पूर्वअध्यक्ष एवं सीईओ राय र हालका सीईओ शाहलाई सँगै राखेर सोधपुछ गरेका थिए । सोधपुछ क्रममा उनीहरूले अपचलनमा संलग्न रहेको स्वीकार गरेका थिए ।

बैंकको रकम अपचलन गर्दा राय, रावत, ठकुरी र शाहले मिलेमतो गरी कर्णाली विकास बैंकको चेकबाट अन्य बैंकमा मौज्दात रहेको रकम निकालेको तथा त्यो रकम बैंकमा नबुझाई अन्यत्र लैजाने गरेको देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै खातामा रकम मौज्दात नभएको अवस्थामा पनि चेक क्लियरिङ मार्फत रकमान्तर गरी भुक्तानी गर्ने गरेर समेत रकम अपचलन गरिएको देखिएको पनि प्रतिवेदनमा छ । सिधै भल्ट र टेलरबाट नगदै रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ मौज्दात रहेकोे सीबीएसमा प्रविष्टि गरिएको थियो । तर, छानबिन समिति अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।

बैंकको उच्च व्यवस्थापनमा रहेका उल्लिखित व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको पनि छानबिन समितिले उल्लेख गरेको छ ।

बैंक विवरणको कागजपत्रमा फोटोसप गरेर आफूले चाहे बमोजिमको विवरण थप गरी किर्ते विवरण बनाइ त्यसको फोटोकपी गरेर राष्ट्र बैंकको अनुगमन टोलीलाई पेस गर्ने गरेको पनि छानबिन प्रतिवेदनमा उल्लेख छ ।

मंसिर २०८० मा राष्ट्र बैंकको सुपरीवेक्षण टोलीले कर्णाली विकास बैंकको सुपरीवेक्षण गरेको थियो । सुपरीवेक्षण टोलीले साउन २०८१ मा कर्णाली विकास बैंकलाई अन्य बैंकमा रहेको निक्षेप विवरणको सक्कल कागज नै पेस गर्नू भन्ने सुझाव दिएको थियो ।

कर्णाली विकास बैंकको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित बैंकको आन्तरिक समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन जिल्ला प्रहरी कार्यालय बाँकेलाई प्राप्त भए पनि हाल राष्ट्र बैकले त्यस सम्बन्धमा छानबिन गरिरहेकाले त्यसमा उल्लेख भएको विवरण सार्वजनिक गर्न नमिल्ने बाँके प्रहरीको भनाइ छ ।

राष्ट्र बैंकले आवश्यक कारबाहीका लागि प्रहरीलाई अनुरोध गरे प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति राजेन्द्रवीर रायको कर्णाली विकास बैकको करिब ८० प्रतिशत संस्थापक सेयर छ । राय बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

अर्का अपचलनकर्ता रावत चैत २०७६ देखि २०७९ सम्म करिब ४ वर्ष सीईओका रूपमा कार्यरत थिए । हालका सीईओ शाहले चैत २०७९ देखि निमित्त सीईओ र असार २०८० देखि सीईओका रूपमा कार्यरत थिए । शाह करिब पाँच वर्ष वित्त विभाग प्रमुख भएर काम गरेका थिए ।

कर्णाली विकास बैंकको संस्थागत सुशासन कमजोर देखिएको, पूँजी अभाव, निष्क्रिय कर्जामा वृद्धिजस्ता मात्र समस्या नभएर केही आपराधिक कार्य पनि भएको देखिएपछि राष्ट्र बैंकले १० पुसमा व्यवस्थापन आफ्नो जिम्मामा लिएको थियो ।

संस्थागत सुशासनमा गम्भीर समस्या, अतिउच्च खराब कर्जा (४०.८ प्रतिशत) लगायत कारण कम्पनीमा सर्वसाधारणको बचत दुरुपयोग भएको एवं रकम नै फिर्ता दिन नसक्ने अवस्था भएपछि राष्ट्र बैंकले कर्णालीलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएको हो ।

बैंकले आन्तरिक रूपमा गरेको छानबिनको विषयमा वित्तीय संस्था सुपरीवेक्षण विभागलाई जानकारी आएको र त्यस समेतका आधारमा राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

समस्याग्रस्त कर्णाली विकास बैंक सञ्चालनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभाग उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

समितिमा वित्तीय संस्था सुपरीवेक्षण विभाग उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहा छन् ।

राष्ट्र बैंक टोलीले ‘ड्युडेलिजेन्स अडिट’ (डीडीए) लगायत गरी बैंकमा कति रकम, कसरी अपचलन भएको छ, त्यसको यथार्थ विवरण बाहिर ल्याउने प्रवक्ता पौडेलले बताए ।

‘बैंकले आन्तरिक रूपमा गरेको छानबिनमा देखिएको बाहेक अन्य कुरा पनि हुन सक्छन्, हाम्रो टोलीले भर्खरै काम सुरु गरेको छ, त्यो सबै पत्ता लगाएर दोषीमाथि कारबाही हुनेछ,’ उनले भने ।

खतिवडाको संयोजकत्वमा रहेको तीन सदस्यीय व्यवस्थापन समितिले सोही दिनदेखि काम सुरु गरेको छ । समितिले बैंकको साधारणसभा, सञ्चालक समिति, सीईओ समेतको जिम्मेवारी निर्वाह गर्ने अख्तियारी पाएको छ ।

त्यसैगरी बैंकको चल, अचल सम्पत्ति व्यवस्थापन गर्ने, कुनै सम्पत्ति तथा दायित्व फरफारक गर्ने छ । समितिले समस्याग्रस्त बैंकको साधन स्रोत दुरुपयोग गर्ने पदाधिकारीहरू र उनीहरूका परिवारका सदस्य वा सम्बद्ध पक्ष पहिचान गरी उनीहरूको नाममा रहेको चल अचल सम्पत्ति रोक्का गर्ने वा बैंकको नाममा ल्याउन आवश्यक पहल गर्ने जिम्मेवारी पाएको छ ।

राष्ट्र बैंक व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षण केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र ऋण असुली प्राथमिकता दिई कार्य गर्ने, अडिट गराउने र बैंकमा भएको वित्तीय अपचलन उपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायत अख्तियारी प्रदान गरिएको छ ।

कर्णाली विकास बैंक समस्याग्रस्त हुनुको प्रमुख कारण नै उच्च निष्क्रिय कर्जा र ऋणात्मक पूँजी कोष हो । बैंकमा करिब ५ अर्ब निक्षेप रहेको तथा ३ अर्ब कर्जा प्रवाह गरेको तथ्यांक छ ।

राष्ट्र बैंकको नियमन क्रममा बैंकको निष्क्रिय कर्जा ४०.८ प्रतिशत देखिएको छ । तर, बैकले सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरण अनुसार भने निष्क्रिय कर्जा जम्मा ७.२६ प्रतिशत मात्रै देखाएको थियो ।

कर्णाली विकास बैंकको बाँकेमा खजुरा, कोहलपुर, शम्सेरगञ्ज, बैजापुरमा गरी चार, बर्दियामा बासगढी, भुरीगाउँ, सानोश्री, गुलरिया, ठाकुरद्वारा, राजापुर गरी ६ र दाङमा घोराही, तुल्सीपुर, बिजौरी, नारायणपुर, लमही, भालुबाङ, गढवा, सिसहनियामा गरी ८ सहित कुल १८ शाखा सञ्चालनमा छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School